५ पुस २०८२, शनिबार

स्वतन्त्र उर्जा उत्पादक संस्था नेपालद्वारा जलविद्युत आयोजना निर्माण सुरक्षाको माग

प्रकाशित मिति :  1 March, 2023 6:11 pm


काठमाडाैँ । स्वतन्त्र उर्जा उत्पादक संस्था नेपालले जलविद्युत आयोजना निर्माणको लागि सुरक्षाको माग गरेको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो ।

उत्पादक संस्थाले फागुन १५ गते सिन्धुपाल्चोक जिल्लाको जुगल पालिकामा निर्माण हुन लागेको सीता हाइड्रोपावर जलविद्युत आयोजना निर्माण स्थलमा स्थानीय एक समूहले गरेको तोडफोड तथा आगजनी र कर्मचारीमाथिको सांधातिक आक्रमणको भत्र्सना गरेको छ ।

इप्पानले जलविद्युत आयोजनामा स्थानीयको समूहले नै उश्रृंखल,अराजक तथा अपराधिक घटना भएको बताएको छ । पत्रकार सम्मेलनमा इप्पानका उपाध्यक्ष आशिष गर्गले क्षति भएको ३५ मेगावटको सीता हाइड्रोपावरलाई उचित क्षतिपूर्ति र  घाइते भएका आयोजनाका कर्मचारीहरुको सम्पूर्ण खर्च पीडक पक्षले व्यहोर्ने व्यवस्था गराउन सरकारसँग माग गरेका छन् ।

उनले पछिल्लो समय जलविद्युत आयोजनाहरुमा धेरै अप्रिय घटना भइरहेको भन्दै सरकारले उचित शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्ने बताए । यस्ता घटनाले सिन्धुपाल्चोक लगायत जलविद्युत उत्पादन क्षेत्रमा निजी क्षेत्र निरुत्साहित हुने भन्दै त्यसतर्फ सरकारको गम्भिररुपमा ध्यान जान आवश्यक रहेको बताएका छन् ।

त्यस्तै सीता जलविद्युत आयोजनाका अध्यक्ष सीताराम तिमल्सिनाले आयोजनामा भएको क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचार पीडक पक्षबाट भराउन सरकारसँग माग गरेका छन् । फागुन १५ गते गुम्बाको मानेभञ्याङमा विद्युत प्राधिकरणको वितरण लाइनमा करेन्ट सर्ट भई स्थानी एक बालिकाको निधन भए पश्चात ६० जनाको एक समूहले योजनाबद्ध रुपमा आयोजना स्थलमा तोडफोड,आगजनी र कर्मचारीमाथि आक्रमण गरेको बताए । आयोजनामा भएको आक्रमणबाट करिब १२ करोड बराबरको क्षेति भएकाे उनकाे भनाइ छ ।

राज्यले सुरक्षा दिन नसक्ने भएर निजी क्षेत्रले कुनै पनि क्षेत्रमा लगानी गर्न नसक्ने अवस्था आएको अध्यक्ष तिमल्सिनाले बताए ।



प्रतिक्रिया दिनुहोस !