१० पुस २०८२, बिहिबार

राष्ट्रपतिका उम्मेद्वार नेम्वाङ र एकीकृत समाजवादीका अध्यक्ष नेपालबिच भेट

प्रकाशित मिति :  2 March, 2023 1:30 pm


नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेद्वार सुवासचन्द्र नेम्वाङले नेकपा (एकीकृत समजावादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् ।

बिहीवार एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष नेपालसँग भेटगरेका हुन्। उनीसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ र विमला राई पौड्याल पनि भेटका लागि गएका छन् ।

नेकपा (एकीकृत समाजवादी) बाट भने अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा  छलफलमा सहभागी रहेका छन् ।

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै नेपाली काँग्रेसको तर्फबाट आठ दलको समर्थनमा उम्मेद्वार बनेका रामचन्द्र पौडेल र एमालेका नेम्वाङ राष्ट्रपतिको लागि सहयोग माग्न तिव्र भेटघाटमा व्यस्त रहेकाे जनाइएकाे छ ।

नेकपा (एकीकृत समाजवादी) ले भने बुधवार सचिवालय बैठकबाट राष्ट्रपतिमा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरिसकेको छ । भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले भेटमा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति चुनावमा एमाले उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको बताए ।

उनले पार्टी अध्यक्ष नेपालले मत माग्न आएकोमा धन्यवाद ज्ञापन गर्दै बिदा गरेको बताए। उनले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टी रामचन्द्र पौडेलेको प्रस्तावक रहेको र तत्काल यसै गर्छौं भन्ने सम्भावना नरहेको उल्लेख गर्दै एक पार्टीले अर्को पार्टीको नैतिकतालाई बुझेर अघि बढेको बताएका छन् ।  

त्यस्तै नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफूहरूले पार्टीबाट उम्मेदवार नेम्वाङलाई राष्ट्रपतिमा मतदान गर्न आग्रह गरेको र कुराकानी सकारात्मक रहेको उल्लेख गरे । उनले दुई पार्टीबिचको एकताको अभियानलाई अघि बढाउने कुरामा पनि सहमति भएको बताए । 

उपमहासचिव गुरुङले दुई पार्टीबिच पार्टी एकताको अभियानको शुभारम्भ भएको पनि बताएका छन्। 



प्रतिक्रिया दिनुहोस !