१० पुस २०८२, बिहिबार

पुस १० को सहमतिलाई मध्यनजर गरेर निर्णय लिन्छौँः रास्वपा

प्रकाशित मिति :  2 March, 2023 4:55 pm


काठमाडाैँ । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ । 

बिहीबार नेकपा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा संसदमा सहभागी हुने राजनीतिक दलहरुसँग भेटघाट गर्ने क्रमस्वरूप नै रास्वपा सभापति लामिछानेसँग भेट गरेका हुन् ।

भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले रास्वपाले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार दिएका नेम्वाङलाई सहयोग गर्नेकुरा भनाइबाट बुझेको बताए । रास्वपाले भने आन्तरिक छलफलपछि निर्णय गर्ने कुरा राखेको भट्टराईले बताए ।

”संविधान सभा अध्यक्ष र सभामुखको रूपमा सफल भ‍ूमिका खेलेका सुवासचन्द्र नेम्वाङलाई हामीले मतदान गर्न आग्रह गर्दै रास्वपा अध्यक्ष रवि लामिछानेलाई भेटेका हौँ,’ उनले भने, ”राष्ट्रिय सहमति जसरी मुलुकले खोजिरहेको छ त्यसलाई सहमतितर्फ फर्काउन सक्ने हिसाबले उहाँ सक्षम हुनुहुन्छ । पार्टीको आन्तरिक छलफलबाट निर्णय गर्छु भन्नुभएको छ । उहाँको भनाइ र बडी ल्याङ्ग्वेजबाट हामी यो बुझ्छौँ कि राष्ट्रपतिमा रास्वपाको मत हामीलाई आउँछ ।”

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पुस १० गतेको सहमति आफूहरूले मनन् गरेको उल्लेख गर्दै त्यसलाई मध्यनजर गरेर बैठकमा छलफल गरी निर्णय गर्ने कुरामा आफ्नो पार्टी रहेको बताएका छन् । राष्ट्रपति निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू सांसदहरूलाई भेट्ने क्रममा व्यस्त रहेका छन् ।  



प्रतिक्रिया दिनुहोस !