४ जेष्ठ २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट

प्रकाशित मिति :  2 March, 2023 4:29 pm


काठमाडाैँ । अन्तराष्ट्रिय स्तरमा नेपालको चियाले अवार्ड पाउनु राष्ट्रिय गौरवको विषय रहेको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार हरिवाेल गजुरेलले बताए ।

चीनको ‘चीन चिया मार्केटिङ संघ’ ले आयोजना गरेको दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्याङ्कन प्रतिष्पर्धामा नेपाली चियाले १० वटा पुरस्कार जित्न सफल भएकाे थियाे । विजेताहरूलाइ गरिएकाे सम्मान कार्यक्रममा बोल्दै गजुरेलले कयौँ वर्षदेखि आयात गर्दै आएको मुलुकले विश्वमा नेपालको चिया चिनाउन सक्षम हुनु गौरवको कुरा रहेको बताएका हुन् ।

उनले भने, “राजनीतिक अस्थिरता, आर्थिक संकट जस्ता समस्याले घेरेको छ । यो बेला हामी एक भएर हिड्ँन जरुरी रहेको छ । त्यसैले धैर्य भएर अघि बढ्नुहोस् सरकार चिया उद्योगीदेखि अन्य कृषकको हितमा नीति तथा कार्यक्रम ल्याउने योजनामा छ ।’’

अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट रहेको भन्दै नेपाली चियाले स्वर्ण, रजत र सिल्भर पुरस्कार विजेता भएको छ । 

बोर्डले नेपालमा उत्पादित १६ वटा चियाको नमूना परीक्षणमा पठाएकोमा १० प्रकारका चियाले विश्व गुणस्तरमा उच्च रहेको प्रमाणित भएको बताएको छ ।

त्यस्तै बोर्डका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराईले नेपालको चियाको चिनियाँ बजार राम्रो रहेको बताएका छन् । बोर्डले नेपालमा उत्पादित चियाको बजार व्यावस्थापनको लागि पहल गरिरहेकाे र चीनमा नेपाली चियाको अनलाइन विज्ञापन सुरु भइसकेको जानकारी दिएका छन् ।

भट्टराईले अवार्ड विजेता भएसँगै नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जाको रहेको र आर्थिक उन्नतिको लागि महत्वपूर्ण मानिने उल्लेख गरेका छन् ।  गत वर्षको तुलनामा नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा निर्यात ३६ प्रतिशतले बढेको र निर्यात वृद्धिले चियाकाे माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको बताएका छन् ।

विश्वका प्रमुख चिया उत्पादक राष्ट्रहरू चीन,भारत,केन्या,श्रीलंका जस्ता देशहरूसँग नेपाली चियाको प्रतिष्पर्धा गराइएको थियो । अवार्ड परिणामस्वरूप आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाकाको निर्यात व्यापार बढाउन सहज हुने विश्वास लिएकाे छ ।

तीनजुरे चिया कृषक सहकारी संस्थाद्वारा उत्पादित पर्ल गोल्डेन चियाले गोल्डेन पुरस्कार पाएको छ भने फार्मर चिया प्रशोधन उद्योगले उत्पादन गरेको एफ्टी हिमालयन गोल्डेन, साग्रिंला गोल्डेन,जीटीई–गोल्डेन चिया, सिल्भर वीङ्गस, गोल्डेन टिप्स चियाले गोल्डेन मेडल अवार्ड विजेता भएका हुन् ।

त्यस्तै, नेपालका झापा, इलाम,पाँचथर,धनकुटा र तेह्रथुम जिल्लाहरूलाई चिया क्षेत्रको रुपमा २०३९ सालमा तत्कालीन राजा वीरेन्द्रले घोषणा गरेका थिए । आर्थिक वर्ष २०७७| ०७८ को तथ्याङ्क अनुसार नेपालमा १६ हजार ९१७ हेक्टर क्षेत्रमा खेती भएर त्यसबाट २३ हजार ७४५ मेट्रिकटन उत्पादन भइरहेको छ । नेपालमा १७ हजार चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक आवद्ध रहेको बोर्डले जनाएको छ । आर्थिक वर्ष २०७७|०७८ मा ३ खर्ब ७९ करोड ७१ लाख रुपैयाँ बराबरको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएको छ । 



प्रतिक्रिया दिनुहोस !