१३ बैशाख २०८१, बिहिबार

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतले गरे कमलविनायक -नगरकोट सडक अनुगमन

प्रकाशित मिति :  2 March, 2023 5:19 pm


काठमाडाैँ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसहितको टोलीले भक्तपुरको कमलविनायक नगरकोट सडकखण्ड अनुगमन गरेका छन् ।

बिहीबार मन्त्री श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत श्रीवास्तवसहितको टोलिले उक्त सडकखण्डको स्थलगत अनुगमन गरेको हो । स्थलगत अनुगमनपश्चात पत्रकारसँग प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री श्रेष्ठले सडक निर्माणमा ढिलाइ भएको विषयमा निर्माण कम्पनीसँग स्पष्टीकरण मागेका थिए ।

उनले निर्माण कम्पनीले आगामी चैत मसान्तसम्म सबै काम सम्पन्न गर्न निर्देशन समेत दिएका छन् । ठेकेदारको उपेक्षाको कारण कमलविनायक–नगरकोट सडक मर्मत अलपत्र परेको भन्दै अब सरकारले नसहने बताएका छन् । श्रेष्ठले नेपालको विभिन्न प्रकारको भूगोललाई जोड्ने मुख्य आधार भनेको सडक पूर्वाधार नै रहेकाे र सरकारले सडक बाहेक रेल,केबलकार जडानमा वृद्धि गर्ने ,काठमाडौँ भित्र मेट्रोरेल जोड्ने र हवाई उडान सेवा बढाउने प्रयास गरिरहेको बताए ।

त्यस्तै, सैलुङ कन्स्ट्रक्सनका प्रतिनिधि अनुप अधिकारीले बिचमा रुख कटान, विद्युतको पोल सार्न समस्या आएको र भूकम्पका कारण पनि केही ढिलाइ भए पनि अबको एक महिनामा आयोजना सम्पन्न गरेर हस्तान्तरण गर्ने बताए । उनले अब फेरि पनि म्याद थपिदिनुस् भन्ने ठाउँ नभएको भन्दै अबको एक महिना रातदिन नभनी काम गरेर सम्पन्न गरेर हस्तान्तरण गर्ने र नसके छाड्ने बताएका छन् ।

उक्त सडक आयोजनामा भारतीय एक्जिम बैंकको पनि आर्थिक सहयोग रहेकाले स्थलगत अनुगमन टोलीमा भारतीय राजदुत श्रीवास्तव पनि सहभागी भएका थिए । टोलीले कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मै पुगेर सडकको स्थलगत अनुगमन गरेको हो । सैलुङ कन्स्ट्रक्सनले कमलविनायक–नगरकोट सडकखण्ड ठेक्का पाएको छ तर पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न हुन सकेको छैन ।
 



प्रतिक्रिया दिनुहोस !