१० पुस २०८२, बिहिबार

राष्ट्रपति उम्मेदवार नेम्वाङले मागे लोसपा अध्यक्ष ठाकुरसँग मत

प्रकाशित मिति :  3 March, 2023 5:32 pm


काठमाडाैँ । नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । नेम्वाङले आफूलाई राष्ट्रपतिमा मतदान गरेर सहयोग गर्न ठाकुरलाई आग्रह गरेका भेटमा सहभागी लोसपा नेता राजेन्द्र महतोले बताए ।

उनले आफू ८ दलीय गठबन्धनमा सहभागी रहेकाले पार्टीको बैठकबाट नै यसबारेमा निर्णय गर्ने जवाफ दिएको बताएका छन् । उनले भने, ‘‘हामी ८ दलीय गठबन्धनमा सहभागी छौँ । र पनि उहाँले आग्रह गर्नुभएको छ । हाम्रो अध्यक्षले पार्टीको बैठकमा आग्रह गर्छौं, कुरा गर्छौं भन्नुभएको छ ।”

त्यस्तै भेटपछि नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले अहिलेको राष्ट्रपति निर्वाचनमा सुवासचन्द्र नेम्वाङको उम्मेदवारी न्यायोचित उम्मेदवारी भएकाले लोसपा पनि सकारात्मक रहेको बताएका छन् ।

उनले भने, ”अहिलेको राष्ट्रपति निर्वाचनमा सुवासचन्द्र नेम्वाङको उम्मेदवारी न्यायोचित उम्मेदवारी हो । संविधान, कानून बुझेको, संविधान निर्माणमा नै अग्रसर रहेकाले उहाँ नै उपयुक्त हुनुहुन्छ । बैठक बसेर निर्णय गर्ने कुरा गर्नुभएको छ तर उहाँहरुको प्रतिक्रिया सकारात्मक पाएका छौँ ।”

सचिव भट्टराईले राष्ट्रपतिका उम्मेदवार नेम्वाङ र प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच पनि भेट भएको र प्रधानमन्त्री सकारात्मक रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !