१२ श्रावण २०८१, शनिबार

लकडाउन छिट्टै अन्त्य नहुने प्रधानमन्त्रीको भनाई, राजनीतिक संयन्त्र बनाउने अर्का अध्यक्ष प्रचण्डको प्रस्ताव ठाडै अस्वीकार

प्रकाशित मिति :  11 April, 2020 4:30 pm


काठमाण्डौं,२९ चैत ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीबाट कोरोना रोकथाम तथा नियन्त्रणबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा रहेको एक्सन रूमबाट ४ घण्टाभन्दा बढी अवधिसम्म भिडियो कन्फ्रेन्समाफर्त सातै प्रदेशमा भइरहेको कोरोना रोकथाम तथा नियन्त्रणबारे जानकारी लिएका हुन् ।

भिडियो कन्फ्रेन्समार्फत सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आ-आफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयास र पछिल्लो अवस्थाबारे जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले अहिलेसम्मका प्रयासहरु सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेकोमा जोड दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

प्रधानमन्त्रीले सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको भन्दै सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको बताए ।

उनले अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि सबैलाई आग्रह गरेको सल्लाहकार थापाले जनाएका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्य उपचारको क्षेत्रले गुणात्मक फड्को, प्रयोशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने समेत दाबी गरेका छन् ।

प्रधानमन्त्रीले लकडाउन छिट्टै अन्त्य नहुने भन्दै सीमामा अझ कडाइ हुने र भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको भन्दै प्रधानमन्त्रीले भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा सम्भाव नभएको बताएको थापाको भनाई छ ।

सातै प्रदेशका मुख्यमन्त्रीसँग ‘भर्चुअल’ छलफलमा प्रधानमन्त्री

प्रधानमन्त्रीले यसमा नरम बनेर लापरबाही नगर्न पनि सबैलाई सचेत गराउनुभएको छ ।

प्रधानमन्त्री ओलीले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले सरकार स्वयंले अधिकारका साथ काम गरेको स्मरण गराउँदै १५ दिन घरमा बस्दै,बीचबीचमा  निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न आग्रह गरेका छन् । ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रस्ताव गरेपछि ओलीले यस्तो जवाफ दिएका हुन् ।

स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने, शारिरीक रूपमा तन्दुरूस्त र त्यसवापत कुनै लाभ नखोज्ने हुनुपर्ने समने प्रधानमन्त्रीको भनाई छ ।

लकडाउनमा प्रशासनिक लापरबाही नगर्न भन्दै प्रधानमन्त्री ओलीले मेला लाग्ने, मान्छे जम्मा हुने आदी क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनैपर्ने बताएका छन् ।

उनले केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गरिने समेत बताएका छन् ।

जनतालाई दुःख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि प्रधानमन्त्रीको आव्हान छ । ।



प्रतिक्रिया दिनुहोस !