गठबन्धन भत्काउने धराप नथाप्न गगन थापाको चेतावनी
काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कसैले पनि गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिएका छन् ।
शुक्रबार गठबन्धन दलहरुले राष्ट्रपति निर्वाचनको सन्दर्भमा बागमती प्रदेशका सांसदहरुलाई केन्द्रित गरेर काठमाडौँमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले वर्तमान गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिएका हुन् ।
उनले आफूहरूका बीचमा भएको सहमति पाँचै वर्ष कार्यान्वयन भएर अगाडी बढ्ने र राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किने र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भनेर भ्रम फैलाइएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरेका छन् ।
थापाले आफूहरूका बीचमा भएको सहमति कार्यान्वयन नभएमा दलहरु माथिको इमान्दारीता र विश्वसनीयतामा प्रश्न उठ्ने भन्दै त्यसो हुन नदिने र नेपाली काँग्रेसका कोही पनि नेताहरुलाई भेटेर गठबन्धन भत्काउने चकचक नगर्न चेतावनी दिएका छन् ।
महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाइराख्नका लागि मात्रै यो गठबन्धन नबनेको पनि स्पष्ट पारेका छन् । दाहाललाई नेकपा(एमाले)ले पाँचै वर्ष प्रधानमन्त्री दिएको भएपनि त्यसलाई त्यागेर नयाँ गठबन्धन बनाइएको उनकाे भनाइ छ ।








