२ माघ २०८२, शुक्रबार

लागुपदार्थ सेवन गरी सवारी चलाउने ११ जना पक्राउ

प्रकाशित मिति :  4 March, 2023 12:02 pm


काठमाडौँ । काठमाडौँको नागढुङ्गामा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ११ जना चालकलाई शुक्रबार‍ राति प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले शुक्रबार राति १० बजेदेखि साढे ११ बजेसम्म २५ वटा सवारी साधनका चालकलाई चेक गर्दा ११ जनाले लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएको थियो ।

बा २ ख १२४४ नम्बरको हाइसका चालक धादिङका २६ वर्षीय ईश्वर श्रेष्ठ, ग १ ख २७७२ नम्बरको हाइसका चालक धादिङकै २६ वर्षका नारायण परियार, बा २ ख २०७४ नम्बरको हाइसका चालक धादिङकै ३२ वर्षीय विकास मिजार, ग १ ख २९५९ नम्बरको हाइसका चालक गोरखाका २९ वर्षीय नरेश गुरुङ, ग १ ख २९५७ नम्बरको हाइसका चालक बाराका ३८ वर्षीय राम प्रसाद आचार्य, ग १ ख २८१९ नम्बरको हाइसका चालक कास्कीका २६ वर्षीय नविन बिक, प्रदेश २(०३(००१ ख ०५१९ नम्बरको बसका चालक सर्लाहीका २३ वर्षीय नजाम हुसेन, बा ८८ प २४७५ नम्बरको मोटरसाइकलका चालक भोजपुरका ४० वर्षीय श्याम कुमार तिरुवा, ना ७ ख ६२२४ नम्बरको ट्रकका चालक ४० वर्षीय बाराका जयराम साह तेली, ना ४ ख ७१९५ नम्बरका ट्रकका चालक ललितपुरको गोदावरी ३ का ३४ वर्षीय बिक्रम दमाई र बा ४ ख ६२९ नम्बरको टिपरका चालक धादिङका २५ वर्षीय अशोक घिमिरेलाई नियन्त्रणमा प्रहरीले लिएको हो ।

लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका ११ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी प्रभाग बलम्बु पठाइएको छ । उनीहरूलाई थुनामा राखेर लागुऔषध सेवनको मुद्दा चलाइने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !