१० पुस २०८२, बिहिबार

माओवादीहरू सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ : प्रचण्ड

प्रकाशित मिति :  5 March, 2023 2:07 pm


काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण माओवादी घटकहरू एकतावद्ध हुन आग्रह गर्नुभएको छ ।

आइतवार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध,सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री प्रचण्डले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरूलाई एकताबद्ध हुन आग्रह गरे ।

उनले सबै माओवादीहरू एक ठाउँमा केन्द्रित हुने समय आएको बताए । उनले विगतमा विभाजित भएर सबैले आ–आफ्नो अनुभवहरू समेटेको भन्दै एकअर्काको अनुभवहरूलाई आफ्नै अनुभवको रुपमा लिएर एकतावद्ध हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री प्रचण्डले आफूले एकताका लागि सबैसँग कुरा गरिरहेको र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भने निकै अघि बढिसकेको जानकारी दिए ।

उनले भने,“समय आएको छ । फेरि हामी माओवादीहरू सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ । मैले त्यो अपिल गर्दै आएको छु । माओवादी आन्दोलन एउटा ठुलो प्रवाहको रूपमा अगाडि आयो । शान्ति प्रक्रियापछि यो विभिन्न भंगालाहरूतिर विभाजित जस्तो भयो । अब समय फेरि बग्दै जाँदा ति सबै भंगालाहरू एक ठाउँमा मिसिएर एउटा विशाल सागरतिर जाने समय आयो ।”

प्रधानमन्त्री प्रचण्डले आफू जनयुद्धका कमाण्डरको हैसियतमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विभिन्न दबाब र घेराबन्दी बिरुद्ध लडिरहेको बताए ।

उनले मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द र धर्मेन्द्र बास्तोलाहरू पनि विभिन्न घेराबन्दीकाबिरुद्ध लडिरहेको आफूले देखेको भन्दै अब सबै मिलेर एक भएर लड्नुपर्नेमा जोड दिए ।

आफूहरू एक हुनु नै सहीद र बेपत्ता योद्धाहरूप्रति इमाननदार भएको ठहरिने उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !