माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउन खोजेर माओवादीलाई जिस्काएको टिप्पणी गरेका छन् ।
सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै भट्टराईले तीन वर्ष अघि सार्वजनिक रूपमा बोलेको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाउ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याउनु भएको बताए ।
उनले पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको आरोप लगाए ।
भट्टराईले यसको बिरुद्धमा सबै माओवादीहरू एक ठाउँमा उभिन आवश्यक रहेको उल्लेख गरे । उनले यस्ता मुद्दाहरूमा सबै माओवादीहरू एक ठाउँमा उभिनुपर्ने आह्वान गर्दै यी मुद्दाहरूमा कार्यगत एकता गरेर अघि बढ्न आवश्यक रहेकोमा जोड दिए ।
पूर्वप्रधानमन्त्री भट्टराईले भने,“मैले एउटा मन बनाइसकेको छु, नजिकको साथीलाई भनिसकेको छु, हामीले एकै पटक पार्टी एकता मात्रै भनेर गलो मिलाउनु भन्दा पनि पहिला निमर्मतापूर्वक कसले के गल्ती गरेको छ, त्यसको छलफल गरौँ । त्यसपछि मिल्न सक्नेहरू जति एक ठाउँमा आउँ, एउटा पार्टी बनाऔँ । पहिला समय लाग्छ भने एउटा मोर्चा बनाऔँ । अहिले यत्रो आक्रमण भइरहेको छ ।”
पूर्वप्रधानमन्त्री भट्टराईले माओवादी विभाजित भए पनि अब मिलेर जानुपर्ने बेला आएको बताए । उनले आफ्नो ठाउँबाट सबैले आफ्ना गल्ती र कमजोरीहरू महसुस गरेर अघि बढ्नु नै देश र जनताको लागि कल्याणकारी हुने उल्लेख गरे ।








