१३ बैशाख २०८३, आइतबार

सरकारले भन्यो : मुस्ताङमा कुनै विश्वविद्यालय खोल्ने अनुमति दिइएको छैन

प्रकाशित मिति :  5 March, 2023 7:26 pm


काठमाडौँ । सरकारले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा विश्वविद्यालय खोल्ने अनुमति नदिइएको स्पष्ट पारेको छ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई भनी सञ्चारमाध्यममा सार्वजनिक भएको समाचारप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै सरकारले आफ्नो धारणा धारणा स्पष्ट पारेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ । नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौं ।”

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दुतावासमा पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएको भन्दै प्रवक्ता शर्माले यस सम्बन्धमा के भएको हो सोको अध्ययन र आवश्यक छानविन गरी सत्य तथ्य सार्वजनिक गर्ने व्यहोरा जानकारी गराउने स्पष्ट पारेकी छन् ।

प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीनरूपमा यस्ता विषय श्रृंखलाबद्धरूपमा सार्वजनिक हुनु दुःखद भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,“परराष्ट्र नीतिमाथि आँच पु¥याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन । ”

मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय हित एवं स्वतन्त्र र सन्तुलित कुटनीतिका पक्षमा नेपाल सरकार दृढतापूर्वक उभिएको विज्ञप्तिमा उल्लेख छ ।

“नेपाल निरन्तर असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहेको छ । तसर्थ, यस्ता भ्रमपूर्ण अभिव्यक्तिहरूबाट भ्रमित नहुनसमेत सञ्चारमाध्यम र आम जनसमुदायमा हार्दिक अपील गर्दछौं,” जारी विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !