बालुवाटारमा माओवादी धारका नेताको बैठक जारी
काठमाडौँ । माओवादी धारका नेताहरूको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आज बिहान ९ बजेदेखि बैठक जारी रहेको प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
बैठकमा प्रधानमन्त्रीसमेत तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बाँस्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति), नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायत सहभागी छन् ।
प्रधानमन्त्री प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि माओवादी नेताहरू नजिकिएको देखिन्छ । आइतबार सहिद तथा वेपत्ता योद्धा सन्तती फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा माओवादी धारका नेताहरूले एकजुट भएरअगाडि बढ्ने बताएका थिए ।








