१० पुस २०८२, बिहिबार

शान्ति सम्झौता र परिवर्तनका विरुद्व हुने गतिविधि प्रतिवाद गर्न माओवादी धारका दल एकमत

प्रकाशित मिति :  7 March, 2023 11:11 am


काठमाडौँ । माओवादी धारका दलहरू शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरूको प्रतिवाद गर्न एकमत भएका छन् ।

सर्वोच्च अदालतले प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध द्वन्द्वकालीन मुद्दा दर्ता गर्न आदेश दिएपछि बसेको माओवादी धारका दलले प्रतिवाद गर्ने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैकठपछि जारी विज्ञप्तिमा संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे गम्भीर ध्यानाकर्षण भएको छ ।

विज्ञप्तिमा भनिएको छ,“ शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न हामी सरकारसँग जोडदार माग गर्दछौ । शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरूको प्रतिवाद गर्न हामी एकमत छौं ।”

शान्ति प्रक्रियासँग जोडिएका विषयहरू विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरूप व्यवस्थापन गरिनुपर्दछ भन्ने कुरामा आफूहरू दृढ रहेको उनीहरूको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ,“संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत् अगाडि बढाइनुपर्दछ । संक्रमणकालीन न्यायको प्रक्रिया विपरितका काम कावाहीहरूले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुयाउँदैन भन्ने कुरामा समेत हामी स्पष्ट छौं ।”

विभिन्न समयमा राज्यसंग भएका सहमति र सम्झौताहरूको कार्यान्वयन हुनुपर्दछ भन्ने कुरामा समेत प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !