१० पुस २०८२, बिहिबार

शान्ति प्रक्रिया टुङ्ग्याउनु सरकारको प्राथमिक कार्यभार : मन्त्री शर्मा

प्रकाशित मिति :  7 March, 2023 2:01 pm


काठमाडौँ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुंगोमा पुर्याउनु सरकारको प्राथमिक कार्यभार रहेको बताइन् ।

धादिङको गल्छीमा आयोजित सामुदायिक रेडियोहरूको दुई दिने राष्ट्रिय परामर्श सम्मेलन उद्घाटन गर्दै उनले चालु संसद अधिवेशनबाटै संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर शान्ति प्रक्रियाको बाँकी कार्यभार टुंगोमा पुर्याउने बताएकी हुन् ।

अघिल्लो संसदमा बिधेयक पेश भए पनि टुंगोमा पुग्न नसकेको उल्लेख गर्दै मन्त्री शर्माले यसपटक त्यसका लागि प्रमुख दलहरूले लिखित प्रतिबद्धता नै जनाइसकेकाले संक्रमणकालीन न्यायको काम टुंगोमा पुग्ने विश्वास व्यक्त गरेकी छन्।

राजनीतिक सामाजिक आन्दोलनको सफलतामा मिडियाको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै मन्त्री शर्माले गाउँगाउँका जनता जगाउन एफएम रेडियोको भूमिका झन महत्त्वपूर्ण रहेको बताइन् ।

नेपालमा धेरै मातृभाषा र मौलिक सस्कृति संकटापन्न अवस्थामा रहेको उल्लेख गर्दै मन्त्री शर्माले मातृभाषाप्रति समुदायको सकारात्मक धारणा विकास गर्दै यसको प्रयोगमा व्यापकता ल्याउन सामुदायिक रेडियोलगायत सबै संचारमाध्यमले मातृभाषाका कार्यक्रम उत्पादन र प्रसारणमा जोड दिनु आवश्यक रहेको बताएकी छन् ।

युनेस्कोको सहयोगमा रेडियो धादिङले आयोजना गरेको सम्मेलनमा देशभरिका सामुदायिक रेडियोबाट प्रतिनिधिमूलक सहभागिता रहेको छ । सम्मेलनमा पाँच वटा शीर्षकमा प्यानल छलफल हुने आयोजक रेडियो धादिङका अध्यक्ष सुवास खतिवडाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !