१० पुस २०८२, बिहिबार

राष्ट्रपति निर्वाचनका लागि तयारी पूरा

प्रकाशित मिति :  8 March, 2023 5:22 pm


काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयलेले बिहिवार हुने राष्ट्रपति निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

राष्ट्रपतिका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी दर्ता भएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन, २०७९ निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनका लागि आवश्यक हुने सम्पूर्ण तयारी पूरा भएको बताए ।

उनले प्रदेश सभातर्फ ५५० जना र संघीय संसदतर्फ ३३२ जनाको मतदाता नामावली रहेको जानकारी दिँदै मतदानका लागि संघीय संसद भवनको ल्होत्से हलमा दुईवटा मतदान केन्द्र स्थापना गरिएको बताए ।

ल्होत्से हल भित्रका दुई मतदान केन्द्रमा संघीय सांसद र प्रदेश सांसदहरुले छुट्टाछुट्टै मतदान गर्ने व्यवस्था मिलाइएको उनको भनाई छ । संघ र प्रदेशका सांसदहरूको छुट्टाछुट्टै लाइन हुने पनि उनले जानकारी दिए । पौडेलले मतदान बिहान १० बजेदेखि ३ बजेसम्म हुने बताए ।

निर्वाचन अधिकृत पौडेलले मतदानका लागि लाइन बस्नुअघि संघीय सांसद र प्रदेश सांसदहरुलाई छुट्टाछुट्टै ‘वेटिङ रुम’ बनाइएको पनि जानकारी दिए । मिडियाका लागि पनि ‘वेटिङ रुम’ को व्यवस्था गरिएको उनले उल्लेख गरे ।

पौडेलले अपरान्ह ४ बजेदेखि मतगणनाको कार्य शुरु गरेर साँझ ७ बजेसम्म गणना सकिसक्ने लक्ष्य रहेको बताए । मत गणना सकिएसँगै ल्होत्से हलमै आएर मत परिणामको घोषणा गरिने निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !