प्रचण्डविरुद्धको रिट न्यायधीश विश्वम्भर श्रेष्ठको इजलासमा
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको छ ।
अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।
प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडीखेलमा आयोजित थारू माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आफूले दश वर्षे युद्धकालमा भएको पाँच हजार जनाको हत्याको जिम्मा लिने बताएका थिए । सोही अभिव्यक्तिलाई मुख्य विषय बनाएर पीडितले मुद्दा सर्वोच्च अदालतमा रिट दायर गरेका हुन ।
रिट निवेदनको पक्षमा कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछापका ज्ञानेन्द्रराज आरणसहित रहेका छन् ।
सुरुमा सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेस भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ (दर्ता नहुने) निर्णय गरेको थियो । त्यसविरुद्ध परेको निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार फागुन २३ गते कानुन व्यवसायीहरूले प्रचण्डविरुद्ध रिट दर्ता गराएका थिए ।








