प्रधानमन्त्री प्रचण्ड बिरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले आज १५ दिनभित्र आफैँ उपस्थित भएर वा प्रतिनिधिमार्फत लिखित जवाफ दिन प्रधानमन्त्री प्रचण्डलाई आदेश दिएको हो ।
निवेदक ज्ञानेन्द्रराज आरण लगायतले द्वन्द्वकालमा भएका हत्याका विषयमा माओवादी अध्यक्ष दाहाललाई जिम्मेवार रहेको आरोप लगाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
ज्ञानेन्द्रराज आरणको माग बमोजिम अन्तरिम आदेश भने जारी भएको छैन । आजको इजलासले मुद्दालाई अग्राधिकार दिन भनेको छ ।
अन्तरिम आदेश जारी गरी पाउँ भन्ने निवेदन मागका सन्दर्भमा हेर्दा निवेदनमा मुलतः संक्रमणकालीन न्याय सम्पादनका सन्दर्भमा विचारणीय हुन आउने नेपालको संविधान र प्रचलित कानूनमा रहेका प्रावधान, यस अदालतबाट पटकपटक संक्रमणकालीन न्यायको विषय समावेश भएका सन्दर्भमा हेरिनुपर्ने तथा व्याख्या र विश्लेषण गरिनुपर्ने सम्बन्धी प्रश्नहरु उठाइएको देखिएका कारण यस प्रकारको कानूनी प्रश्नहरुको निरुपण पूर्ण सुनुवाईको अवस्थामा नै गर्नु मनसिव हुने अदालतको ठहर छ ।








