७ बैशाख २०८१, शुक्रबार

नवलपुरकाे उन्नति कल्चरल भिलेजमा ‘उन्नति मेला’, ओपन एयर म्युजियम उद्घाटन

प्रकाशित मिति :  11 March, 2023 8:31 pm


नवलपुर। नवलपुरको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘उन्नति मेला’ आयोजना गरेको छ । 

भिलेजको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिवार विशेषगरी नवलपुर र चितवनका महिला लघु उद्यमी र युवा उद्यमीलाई सहयोग एवं र सशक्तीकरण गर्न एकदिने मेला आयोजना गरेको हो । 

नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न मेलामा विशेष अतिथि गंैडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइराला थिइन् ।  

प्रमुख जिल्ला अधिकारी लम्सालले चौधरी फाउन्डेसनअन्तर्गत उन्नति कल्चरल भिलेजले कला संस्कृतिलगायतको प्रवद्र्धन एवम् विकासमा पु-याएको योगदानबारे प्रशंसा गर्दै कला–संस्कृतिको संरक्षण र विकासले देशको समग्र विशेषतालाई झल्काउने र यिनका माध्यमबाट नेपालले विश्वसामु नयाँ परिचय स्थापित गर्न सक्ने बताए।  

उपमेयर कोइरालाले उन्नति कल्चरल भिलेजले लोप हुन लागेको थारु समुदायको आफ्नो कला संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको चर्चा गदै नारी सशक्तीकरणमा भिलेजले पु¥याएको योगदानको प्रशंसा गरिन्।

मेलामा डिजिटल एन्ड मोबाइल बैंकिङ वर्कसप, डिजिटल मार्केटिङ एन्ड ई–कमर्स ट्रेनिङ, नवलपुर रेसिडेन्सी एक्जिबिसन र ओपन–एयर म्युजियम उद्घाटनलगायत कार्यक्रम सम्पन्न भएको छ ।  

मेलामा नबिल बैंकका कावासोती शाखा प्रबन्धक मञ्जिल दुलालले डिजिटल तथा मोबाइल बैंकिङ कार्यशालाको सहजीकरण गरे । कार्यशाला विशेषगरी वित्तीय साक्षरतामा केन्द्रित रह्यो । 

अनलाइन वित्तीय सेवा, डिजिटल बैंकिङ एप, तिबाट पाइने सुविधा, भुक्तानी पोर्टल र यसका फाइदा लगायतका विषयमा उनले कार्यशालामा सहभागीहरुलाई सुसूचित गराएका थिए । स्थानीय महिला लघु उद्यमी र महिला समूहहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न र वित्तीय समावेशीकरणमा सहभागी हुन कार्यशालाले सहयोग पुग्ने विश्वास लिइएको छ । 

मेलामा अश्विन न्यौपानेले डिजिटल मार्केटिङ र ई–कमर्स ट्रेनिङको सहजीकरण गरेको छ । विशेषगरी युवा उद्यमी, मार्केटिङ प्रोफेसनल एवम् बिजनेस स्टार्टअपहरूका लागि लक्ष्य गरी यो कार्यशाला गरिएको हो ।

 

सोसल मिडिया मार्केटिङ, सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ), डिजिटल मार्केटिङ, डाटा एनालाईसिस् र ब्रान्ड व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कार्यशाला केन्द्रीत थियो।  

मेलाको मुख्य आकर्षणका रुपमा नवलपुर रेसिडेन्सी एक्जिबिसन र ओपन एयर म्युजियम उद्घाटनको गरिएको थियो । नवलपुर रेसिडेन्सी एक्जिबिसनमा विशेषगरी नवलपुर र चितवनको ग्रामीण जीवनको सौन्दर्यलाई प्रस्तुत गरिएको थियो । यो एकमहिने आवासीय कार्यक्रमको प्रतिफल हो, जहाँ छ जना फोटोग्राफर र भिडियोग्राफरले सहभागिता जनाएका थिए ।  

ओपन–एयर म्युजियममा चर्चित नेपाली एवम् अन्तर्राष्ट्रिय कलाकारले बनाएका माटो एवं सिसाबाट निर्मित र ढुंगामा कुँदिएका कला प्रदर्शन गरिएको छ । 

उक्त अवसरमा फोटोग्राफी एवं भिडियोग्राफी रेजिडेन्सी र सेरामिक रेजिडेन्सीमा सहभागी कलाकारलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । 

कार्यक्रममा कलाकारहरु सगुनी शाक्य, रोशन मिश्रलगायतको उपस्थिति थियो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारी, नायव प्रहरी उपरिक्षक सन्तोष पाठकलगायतको सहभागिता थियो । मेलाका अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरुबीच आर्ट कम्पिटिसनसमेत गराइएको थियो । 

आर्ट एन्ड क्राफ्टको विकास एवम् प्रवद्र्धन गर्दै नेपाली संस्कारहरुलाई संरक्षण र प्रवद्र्धनमा उन्नति कल्चरल भिलेज प्रतिबद्ध संस्था हो । चौधरी फाउन्डेसनअन्तर्गत सञ्चालित भिलेजले नेपाली कलासंस्कृतिको विकासका लागि विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । 



प्रतिक्रिया दिनुहोस !