यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम रहने
काठमाडौँ । १० दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम रहने भएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले यसबारेमा यादवको उम्मेदवार कायमै रहने जानकारी गराएको हो ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले यादवको उम्मेदवारी पनि कायम रहने बताए ।
उम्मेदवार यादवको उम्मेदवारीमा नेकपा एमाले र ज्नमत पार्टीबाट दाबी बिरोध परेको थियो ।
पौडेलले भने,“राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नगरी लिंग र समुदाय फरक हुनुपर्ने गरी संविधान र कानूनी व्यवस्था भइरहेको देखिँदा खस आर्य समुदाय भन्दा फरक समुदायका पुरुष उम्मेदवार रामसहायप्रसाद यादव उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य भन्न सकिँदैन ।”
उजुरी दाबी बमोजिम रामसहायप्रसाद यादव उपराष्ट्रपति उम्मेदवारको मनोनयन पत्र खारेज गर्नुपर्ने नदेखिएको पौडेलले जानकारी दिए ।
जनता समाजवादी पार्टीबाट प्रमिला कुमारीको पनि उम्मेदवारी रहेको छ । उपराष्ट्रपतिमा कुल ४ जनाको उम्मेदवारी परेको थियो ।








