मुलुक प्रतिगमनको दिशामा अगाडि बढीरहेको छ : उपाध्यक्ष महरा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले राज्यको अग्रगामी पुनःसंरचना नभएको र मुलुक प्रतिगमनको दिशामा अगाडि बढीरहेको टिप्पणी गरेका छन् ।
माओवादी धारका ९ दलले काठमाडौँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष महराले वृहत शान्ति सम्झौता गर्दा आफूहरुले राज्यको अग्रगामी पुनःसंरचना गर्ने मान्यता आफूहरुको रहेको भन्दै आजसम्म पुुनःसंरचना हुन नसकेको दाबी गरे ।
उनले अहिले देश प्रतिगमनको दिशामा अगाडी बढिरहेको बताए ।
आफूहरूले शान्ति चाहेको र शान्तिबाट विचलित नहुने भन्दै राज्यको अग्रगामी पुनःसंरचना भने आवश्यक महराको भनाई थियो । वर्गीय, क्षेत्रीय, लिङ्गीय भेदभाव मेटिनेगरी राज्यको पुनःसंरचना नहुँदासम्म द्वन्द्व निम्तिइरहने बताए ।
आफूहरूले द्वन्द्व नचाहेको र शान्तिपूर्ण रुपमा राज्यको पुनःसंरचना होस् भन्ने चाहेको उल्लेख गरे ।
महराले भने,“हामीले विस्तृत शान्ति सम्झौता गर्दा एउटा प्रतिवद्धता गरेका थियौँ, शान्ति प्रक्रियामा हामी सहभागि हुने । शान्ति प्रक्रियासँग हामी प्रतिवद्ध हुने । तर राज्यको पुनःसंरचना हुनुपर्छ भन्ने मान्यता थियो । तर अहिले के देखिइराखेको छ भन्दा राज्यको पुनःसंरचना होइन, प्रतिगमनको दिशामा अगाडी बढिराखेको छ ।”
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि सर्वोच्चमा दर्ता भएको मुद्दाको प्रसंग उल्लेख गर्दै उनले यो कुनै मुद्दाको विषय नभएर अग्रगमन र पश्चगमनको लडाइँ भएको टिप्पणी गरे ।
उनले भने,“फेरि मुलुकलाई पछाडी धकेल्ने कि अगाडी बढाउने भन्ने लडाइँ हो । कुनै मुद्दाको विषय होइन । मुद्दाको विषय एउटा प्रशंग हो । तर यो प्रशंगसँग सम्बन्धित वास्तवमा राज्यलाई अगाडी बढाउने कि, राज्यलाई पछि धकेल्ने भन्ने विषयसँग सम्बन्धित छ ।”
आफूहरू शान्तिबाट विचलित नभएको भन्दै राज्यको अग्रगामी पुनःसंरचना हुनुपर्नेमा जोड दिए । उनले भने,“जनताका तमाम समस्याहरु वर्गीय, क्षेत्रीय, लिङ्गीय भेदभाव छ यी भेदभावको मेटिने किसिमले राज्यको पुनःसंरचना नहुने हो भने यो द्वन्द्व निम्तिइरहने छ । हामी द्वन्द निम्त्याउन चाहदैनौँ ।”
हामी शान्तिपूर्ण तरिकाले राज्यको पुनःसंरचना होस् । र जनताको समस्याहरु सम्बोधन हुन् भन्ने चाहन्छौँ ।’








