अवैध रकम भित्राएको आरोपमा पृथ्वीबहादुर सहित ६ जना पुर्पक्षका लागि थुनामा
काठमाडौं । अमेरिकामा ठगि गरेको रकम नेपाल भित्राएको आरोप लागेका पृथ्वीबहादुर सहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंले उनीहरुलाई ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको हो । ।
पक्राउ परेका ७ प्रतिवादीमध्ये भक्तपुरकी २४ वर्षीया विनिता तामाङलाई चाहिँ ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले जनाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ७ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । प्रहरीको अनुसन्धानपछि २० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको थियो । ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराधमा मुद्धा दायर भएको छ । पृथ्वीको करिब २ दर्जन कम्पनीका नाममा अमेरिकाबाट डलर आएको देखिएको दावी गरिएको छ। त्यो रकम अमेरिकामा ठगी गरेर नेपाल पठाइएको अनुसन्धानबाट खुलेको थियो ।
अदालतको आदेशपछि पृथ्वीसहित उनका भाइ विजयविक्रम शाह, सहयोगी अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद पुर्पक्षका लागि कारागार चलान भएका छन् । प्रकरणमा संलग्न १३ जना भने अझै फरार छन् ।
फरार रहनेमा अछामका देवेन्द्र ढुंगाना, रामेछापका सागर आले मगर, कैलालीका लक्ष्मण रेग्मी, रामेछापका विनोद सुन्दार, काठमाडौं सानु ठकुरी, अविन परियार, राजुकमार ठकुरी, सन्तोष पाण्डे, अञ्जना रजक भण्डारी, किशोर सिंह, तरुण शाह, शिवकुमार पाण्डे र देवेन्द्रबहादुर शाह छन् ।
अमेरिकामा अनलाइनमार्फत ठगी गरेको रकम नेपाल ल्याएको आरोपमा शाहलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरुविरुद्ध व्यूरोमा २४ वटा उजुरी परेको थियो ।








