उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु
प्रकाशित मिति : 15 March, 2023 8:48 am
काठमाडौँ । उपराष्ट्रपति निर्वाचनका लागि मङ्गलवार रातिदेखि मौन अवधि सुरु भएको छ ।
निर्वाचन आयोगका अनुसार आजदेखि उम्मेदवाहरुले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् ।
शुक्रबार हुन गइरहेको उपराष्ट्रपति निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने आयोगले जनाएको हो ।
उपराष्ट्रपति पदमा निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा उम्मेदवार छन् ।








