आयोगले भन्यो : उपराष्ट्रपति निर्वाचन अगाडी दलहरुले बैठक नबोलाउनु
काठमाडौं । निर्वाचन आयोगले शुक्रबार हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलको बैठकबाट उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्नरनगराउन ध्यानाकर्षण गराएको छ।
बिहीबार आयोगले विज्ञप्ती सार्वजनिक गर्दै मंगलबार रातिदेखि मौन अवधि सुरु भएकोले उपराष्ट्रपतिको उम्मेदवारका विषयमा सार्वजनिक अभिव्यक्ति नदिन आग्रह गरेको छ ।
उम्मेदवारका सम्बन्धमा कतिपय राजनीतिक दलका बैठक र त्यससँग सम्बन्धित सार्वजनिक अभिव्यक्ति आएकोले आयोगले ध्यानर्कषण गराएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु भइरहेको विज्ञप्ति मार्फत स्मरण गराएको छ ।
यस अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका बैठक, छलफल, अन्तर्किया, सभा गर्न नपाइने आयोगले जनाएको छ ।
यसैगरी सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न नपाइने विज्ञप्तिमा उल्लेख गरिएको छ।








