उपराष्ट्रपतिको निर्वाचन आज
काठमाडौँ । आज उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो ।
बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।
उपराष्ट्रपतिमा नेकपा ९एमाले० बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादवको उम्मेदवारी परेको छ । शाक्य र रामसहाय यादव प्रमुख प्रतिस्पर्धीको रूपमा छन् ।
उपराष्ट्रपति निर्वाचनमा संघीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ।
संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको छ। निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद गरी कुल ८८२ मतदाता रहेको आयोगले जनाएको छ । मतदान सकिएसँगै आजै साँझ मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।








