१२ असार २०८१, मंगलबार

पत्रकारिताः एक मनोलग

प्रकाशित मिति :  18 March, 2023 11:56 am


–गजेन्द्र बुढाथाेकी—

यतिबेला विभिन्न पदमा रहे-नरहेका राजनीतिकर्मीहरूबाट लगातार पत्रकारिताप्रति प्रश्न उठाउन थालिएको छ । सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने जो आफै पनि पूर्वसञ्चारकर्मीसमेत हुन् ले केही प्रमुख सञ्चार माध्यम र केही पत्रकार/सञ्चारकर्मीको नामै तोकेर १२ भाइ मिडिया भनेर चर्को आलोचना गरे । त्यसको केही दिन नबित्दै नेकपा एमालेका तर्फबाट झापा-२ बाट विजयी भइ सभामुख बनेका देवराज घिमिरेले- सबै पत्रकार बिक्छन् वा बिकाउ छन् भन्ने आशयको अभिव्यक्ति दिएका छन् । यस मनोलगको उद्देश्य यस्ता अभिव्यक्तिहरूको खण्डनमण्डन गर्ने होइन । आफूले लगभग तीन दशकदेखि पेशाका रूपमा अंगाल्दै आएको क्षेत्रबारे पछिल्लो समयमा उठिरहेका प्रश्नहरूमाथि एक सिंहावलोकन गर्ने प्रयास हो ।

एउटा उदाहरणबाट यो मनोलग सुरू गर्छु- यदि तपाईँ कुनै सार्वजनिक यातायातको यात्रा गर्दै हुनुहुन्छ वा भिडभाडयुक्त ठाउँमा हुनुहुन्छ भने कसैले कसैलाई चोर/पकेटमार भनेर समात्यो वा महिलामाथि दुर्व्यवहार गरे भनेर समाते भने त्यहाँ हेरिराख्नुस्, पछाडिबाट लगे हात म पनि एक झापट दिइ हालौं भनेर कहिलेकाँही तपाईँले पनि एक दुई थप्पड लगाइ हालेको हुनु पर्छ । चाहे त्यो व्यक्ति चोर/पकेटमार, दुर्व्यवहारकर्ता नभइ झुक्किएर पक्राउ परेकै किन नहोस् । तपाईँको त्यसले कुनै हानिनोक्सानी गरिनसकेको भए पनि एकदुई थप्पड हानेर सन्तोष लिएको हुनु पर्छ । यो आम प्रवृत्ति हो ।

रविले बाह्र भाइ भनेपछि अहिले क्रिकेट मैदानमा रिपोर्टिङ गर्न गएका आमसञ्चारकर्मीलाई ए बाह्र भाइ भनेर जिस्क्याउनेदेखि ट्वीटर फेसबुकमा बाह्र भाइ, पत्रुकार भनेर अनेकन टिप्पणी गर्ने प्रवृत्ति त्यही भिडभाडमा लगे हात म पनि एक दुई थप्पड हानेर मजा लिउँ भन्ने प्रवृत्ति भन्दा फरक छैन ।

अलिकता पछाडि फर्कौं । दुई वर्षअघि नेपाल पत्रकार महासंघमा दलीय हस्तक्षेप, सिन्डिकेटका विरुद्ध महासंघमा शुद्धीकरणको मूल नारा र उद्देश्यसहित व्यावसायिक पत्रकारहरूका तर्फबाट मैले अध्यक्ष पदमा उम्मेदवारी दिएँ । सुरुमा मेरो उम्मेदवारीलाई नै डमी उम्मेदवारी हो, पछि फिर्ता लिन्छ भनेर प्रचार गराए । अन्तिममा केही उपाय नलागेपछि दुई ठूला राजनीतिक दलका केही प्रभावशाली नेताले नै तपाईँ यस्तो मान्छे, महासंघमा गएर के गर्नु हुन्छ? तपाईँको मत कति आउला- त्यही आर्थिक पत्रकारको १००/१५० त होला भनेर उल्याउने, जिस्क्याउने कामसमेत गरे ।

जसरी हरेक पेशा, व्यवसायमा केही न केही कमजोरी छन्, विकृति छन्, त्यसरी नै पत्रकारिता पनि दोषरहित छैन । दोषहरू छन्, त्रुटिहरू छन्, केही विकृति पनि छन्, पत्रकारको कम पारिश्रमिक, कमजोर सामाजिक सुरक्षा, पत्रकार महासंघको कमजोर ट्रेड युनियन भूमिकासहित कमजोरी यावत छन्

आर्थिक पत्रकारिताको अढाइ दशकको अनुभवसहित पछिल्ला समयमा म केही सानातिना सर्वे/रिसर्चहरूमा केही नाम चलेकै अर्थशास्त्रीहरूसँग संलग्न भएका अनुभवले पत्रकार महासंघका सदस्यहरूबीचको नमुना सर्वे गरेको थिएँ । जसले पत्रकारितालाई पेशाका रुपमा अंगालेको, समाचार लेखेर, सम्पादन गरेर, दृष्य खिचेर, सम्पादन गरेर अर्थात सञ्चारकर्मलाई नै पेशा/रोजगारी/व्यवसाय मानेर संलग्नहरूको संख्या लगभग साढे ६ हजार भएको देखायो । महासंघका १३ हजार सदस्यमध्ये बाँकी राजनीतिक दलका कार्यकर्ता वा चुनावका बेलामात्र पत्रकारका रुपमा परिचय पाउने अन्य पेशा/व्यवसायका पत्रकार हुन् भन्ने देखियो । महासंघसँग आबद्ध नभएका, छाडेका अन्य पत्रकारिता पेशाकर्मीको संख्या लगभग २५०० छ ।

महासंघमा मूलतः दुई वटा पक्षबाट राजनीतिक संरक्षणसहित नेतृत्व छान्ने पठाउने काम हुँदै आएको छ । एमाले सम्बद्ध प्रेस चौतारी र अर्को कांग्रेससम्बद्ध प्रेस युनियन । भनिरहनु पर्दैन, पत्रकार महासंघका अध्यक्षसहित प्यानल निर्माणका काम यी दुई प्रमुख राजनीतिक दलका केही नेताको निर्देशन र सहभागितामा तय हुन्छ । जतिबेला म पत्रकार महासंघको अध्यक्षमा व्यावसायिक पत्रकारहरूको तर्फबाट स्वतन्त्र उम्मेदवारका रुपमा प्रतिष्पर्धामा उत्रिएको थिएँ, त्यसबेला कांग्रेसको भ्रातृ संगठन प्रेस युनियनको नेतृत्वमा ११ वटा अन्य राजनीतिक दलसम्बद्ध पत्रकारका भ्रातृ संस्थाको एउटा- हाल विजयी- प्यानल एउटा थियो । अर्को एमालेको भ्रातृ संगठन प्रेस चौतारीको नेतृत्वमा अर्को प्यानल थियो ।

भन्नाको तात्पर्य बिना दलीय गठबन्धनको एकल उम्मेदवारी एक हिसाबले दुस्साहस नै गरेको हुँ। मेरो आकलनविपरीत जे जति मत आयो, विशुद्ध प्रोफसनल पत्रकारको मत हो भन्नेमा म विश्वस्त छु ।

‘दाइ पत्रकारिता’

पत्रकार महासंघमा अहिले प्रमुख दलका चार पत्रकार संगठन, प्रेस युनियन (कांग्रेस), प्रेस चौतारी (एमाले), प्रेस सेन्टर (माओवादी), प्रेस संगठन नेपाल (एकीकृत समाजवादी) सक्रिय छन् । हुन त अरु दलका  भ्रातृ/सहयोगी/शुभेच्छुक नाममा पनि संस्था नभएका होइनन, ती महासंघको निर्वाचनका बेलामात्र सक्रिय हुन्छन् । यी राजनीतिक दलका भ्रातृ/सहयोगी/शुभेच्छुक पत्रकार संस्थाको प्रभाव सिधै सत्ता र शक्तिसँग हुने भएकाले तिनका केन्द्रीय स्तरका नेताको चुर्तिफूर्ति नै बेग्नै हुन्छ । छोटो अवधिका सरकार बदलिइ रहँदा तिनको शक्ति झन्‌झन् बढ्दै जान्छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, सभामुखहरूको कथित प्रेस सल्लाहकार, प्रेस विज्ञ आदि पदमा नियुक्ति, राज्यले बाँड्ने पदक, पुरस्कार, पारितोषिकहरूमा यिनै दलीय पत्रकार संगठनका सिफारिस चलाउने गरिएको छ ।

मोफसलमा त कुनै न कुनै रुपम यस्ता दलीय संगठनको ओत नलागीकन पत्रकारिता गर्न र टिक्न गाह्रो छ । भर्खर-भर्खर पत्रकारिता पढेर आएका वा अन्य विषय पढेर पत्रकारितामा लागेका नयाँ पुस्ता अवसरका लागि यी संगठनका नेतृत्वमा हालीमुहाली गरिरहेका दाइका पछि लाग्न बाध्य छन् । दाइहरूका पछि लाग्दा सिक्न पो पाइन्छ कि अवसर पो पाइन्छ कि? तालिम-सालिमका कोटामा पारिदिदिन्छन् कि? सत्तारुढ दल सत्तामा हुँदा पुरस्कार पो मिलाइ दिन्छन कि? भनेर नयाँ पुस्ताका थुप्रै पत्रकार बाध्यतावस र धेरै आशाले दलीय पत्रकार संगठनका सदस्य बन्न बाध्य छन्, जसले दलीय पत्रकारिता मौलाउन मद्दत मिलेको छ ।

किन उठ्यो प्रश्न?

समग्र पत्रकारिता जगतलाई नै मुच्छने गरि अहिले मूलतः पाँच कारणले प्रश्न उब्जाइ रहिएको पाइएको छ ।

  • राजनीतिक दलका नेता, प्रशासक वा निजी क्षेत्रका हर्ताकर्ताः जो हिजो पदमा नहुँदा पत्रकार र आमसञ्चारलाई टेको बनाएर आफू माथि उभिए । पद र शक्तिमा पुगेपछि उनीहरूका लागि त्यो टेको गौण भयो, किनकी जी-हजुरी गर्ने अर्को जमात सिर्जना भइसक्यो ।
  • पत्रकारितासम्बद्ध संस्थाको कमजोरीः पत्रकार महासंघले मूलतः पत्रकारका हकअधिकारसम्बन्धी मुद्दाको पैरवी गर्नुपर्ने, पत्रकारिता र आमसञ्चार, अभिव्यक्ति स्वतन्त्रताका पक्षमा उभिनु पर्ने मूल बाटो छाड्न थाले । राजनीतिक दलका नेताहरू उपल्लो तहमा नियुक्त हुनेवित्तीकै चैते-भैलो खेल्दै जी-हजुरी गर्न पुगेपछि तिनले हेप्छन् नै ।
  • पत्रकारको क्षमता विकासमा अभावः २०५०को दशकपछि नेपालमा आमसञ्चार माध्यमहरूको संख्या बढ्दै गएसँगै सञ्चारकर्मीहरूको पनि संख्या बढ्दै गयो तर बढ्दो संख्याअनुसार उनीहरूको पेशागत दक्षता अभिवृद्धि गराउने दिशामा कसैल पनि पहल गरेन । सञ्चार संस्थाहरूले पत्रकारको क्षमता विकासमा लगानी नै गर्न सकेन । अनि, नयाँ पुस्ताका सञ्चारकर्मीले जस्तो जान्यो, त्यस्तै गरेँ, शैलीमा पत्रकारिता गर्न बाध्य भए । भलै, पछिल्लो समयमा पत्रकारिता नै पढेर आएको पुस्ता बढेको छ ।
  • कमजोर सञ्चार बजारः नेपालको सञ्चार क्षेत्रको आकार बढे पनि वास्तविक अर्थमा आमसञ्चारको बजार नै बढेको छैन । विज्ञापन संघका पदाधिकारीले जतिसुकै ठूलो आँकडा देखाए पनि नेपालको विज्ञापन बजारमा घुम्ने भनेको मासिक २५ देखि ३० करोड रूपैयाँमात्र हो । नेपालमा विज्ञापनलाई खर्चका रुपमा लिने चलन छ । कुनै सञ्चार माध्यममा विज्ञापन दिनु भनेको कृपा गरेसरह ठानिन्छ । यसले गर्दा के भयो भने सञ्चार बजारमा आयको केक बढेन तर खाने मुखहरू भने बढ्दै गए । परिणामस्वरुप रहरले सुरु गरिएका पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन आदि छोटो समयमै खर्च र लागत धान्न नसक्ने अवस्थामा पुगी सञ्चारकर्मीकै तलबभत्ता लामो समयसम्म बाँकीबक्यौता राख्न बाध्य भए । परिवारका अन्य सदस्य अरु पेशाकर्म वा व्यवसायमा लाग्नेले घर खर्च जसै चलाउलान्, पत्रकारिता नै मूल पेशा भएकाहरूले यो अवस्थामा जीवन निर्वाह कसरी गर्ने? यसले के भइदियो भने सञ्चार संस्थाहरूले ससाना विज्ञापन, जसमध्ये जानीजानी कानुनले बर्जित गरेकासमेत उठाउन बाध्य भए भने पत्रकारहरू ससानो रकममा पनि आशे हुन थाले ।
  • कमजोर सामाजिक सुरक्षाः पत्रकार/सञ्चारकर्मीहरूको सामाजिक सुरक्षाको अवस्था निकै कमजोर छ । त्यसै पनि पत्रकार/सञ्चारकर्मीहरूले पाउने पारिश्रमिक निकै कम छ । हाल तोकिएको न्यूनतम पारिश्रमिक नेपाल सरकारको पियनको भन्दा कम छ । त्यसमाथि पत्रकार/सञ्चारकर्मीहरूको सामाजिक सुरक्षा निकै कमजोर छ । कुनै गम्भीर बिमारी परे, घटना/दुर्घटनामा परे सामाजिक सञ्जालबाट चन्दा उठाउनु पर्ने बाध्यता छ । दशौं वर्ष काम गरेको संस्थाबाट पत्रकार केही थान काम नलाग्ने पुराना भिजिटिङ कार्ड र मसी सिद्धिएको कलम बोकेर रित्तो हात बाहिरिन बाध्य छन् ।

बढेको विकृति

पत्रकारितालाई बार्गेनिङ गर्ने हतियार बनाइएको आरोप अहिले आएरमात्र उठेको होइन । विगतबाटै यो आरोप लाग्ने गरेको छ । म देशका ९ हजार नै पत्रकार/सञ्चारकर्मीको दायित्व लिने अवस्थामा छैन । केही हदसम्म यो आरोपमा सत्यको अंश पनि भएको म आफैले समेत देखे-भोगेको हुँ । यसको अर्थ सबै पत्रकार/आमसञ्चारकर्मीलाई विकृतिको जिम्मेवार ठहर्‍याउनु अर्को गलत चिन्तनमात्रै हो । नेपालमा ठूलो संख्यामा यस्ता पत्रकारहरू छन्, जो दशकौंदेखि विशुद्ध पत्रकारिता गरेरमात्र जीविकोपार्जन गरिरहेका छन्, जसले मदनमणि दीक्षितदेखि भैरव रिसालसम्मलाई आदर्श मान्छ र आफू सिधा उभिइञ्जेलसम्म पत्रकारिता कर्म गर्ने प्रण गरेको छ ।

विगत केही वर्षयता बढेको युट्युब च्यानलहरूले विकृति बढाउन मद्दत पुर्‍याइरहेका छन् । यसको अर्थ सबै युट्युब च्यानल खराबै छन् भन्ने होइन । हेर्नेकथा जस्ता उत्प्रेरक च्यानलहरू पनि छन तर अधिकांश युट्युब च्यानलहरूले गर्दा समग्र पत्रकारिता क्षेत्रकै बदनाम गर्दै लगेका छन् । पत्रकारिताका एबीसी समेत पालना नगरि तयार पारिने सामग्रीहरू (जसले पत्रकार आचारसंहिताकै ठाडो उपहास गर्दै आएका छन्) लाई नै आधिकारिक खबरजस्तो मानेर हेर्ने जमात निकै ठूलो छ । जसले तीसौं वर्ष यसै क्षेत्रमा बिताएको पत्रकार र युट्युबकारलाई एकै डालोमा राखेर एउटै चश्माले हेर्छ ।

के सबै पत्रकार बिकाउ छन्?

२०५४ सालमा शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत अध्यक्ष मनमोहन अधिकारीको नाममा महाकाली सन्धीको पक्षमा मतदान गरेका एमालेका तत्कालीन वैकल्पिक केन्द्रीय सदस्य देवराज घिमिरेले भनेजस्तै के सबै पत्रकार बिकाउ छन् त? यसले समग्र पत्रकारिताप्रति यो देशका प्रतिनिधि सभाको सभामुखको चिन्तनलाई उजगार गर्छ । केही सीमित पत्रकार, जो कुनै दलका भ्रातृ संगठनका पत्रकर्ता हुनसक्छन्-ले गरेको गल्ती वा उनीहरूका कारणले सिर्जित केही नैतिक प्रश्नको भार यो देशका ९ हजार पेशागत पत्रकार/सञ्चारकर्मीमाथि थोपार्नु पूर्णतः अव्यावसायिक चरित्र हो । हो, पत्रकार बिक्छन्, आफ्नो श्रम बेच्छन् र त्यसबापत पारिश्रमिक आर्जन गर्छन् । मलाई सम्झना छ, मेरो पहिलो पारिश्रमिक प्रतिशब्द २५ पैसा थियो भने एउटा फोटोको २५ रुपिञा प्राप्त हुन्थ्यो । त्यो पनि बेचेकै हो ।

जसरी हरेक पेशा, व्यवसायमा केही न केही कमजोरी छन्, विकृति छन्, त्यसरी नै पत्रकारिता पनि दोषरहित छैन । दोषहरू छन्, त्रुटिहरू छन्, केही विकृति पनि छन्, पत्रकारको कम पारिश्रमिक, कमजोर सामाजिक सुरक्षा, पत्रकार महासंघको कमजोर ट्रेड युनियन भूमिकासहित कमजोरी यावत छन् । यसका बाबजुद पत्रकारिता कर्म गर्ने एउटा समूह जो पेशागत इमानदारी, निष्ठा पालना गरेरै यस क्षेत्रमा क्रियाशील छ, सक्रिय छ । सबैलाई एकै डालोमा हालेर कसैले पनि मानमर्दन नगरेकै बेस् ।



प्रतिक्रिया दिनुहोस !