१६ चैत्र २०८०, शुक्रबार

पत्रकार महासंघले भन्याे, ‘सभामुखले आराेप पुष्टी वा फिर्ता गर्नुपर्छ’

प्रकाशित मिति :  18 March, 2023 3:26 pm


काठमाडाैँ । नेपाली पत्रकारहरूकाे छाता संगठन नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेले पत्रकारहरूप्रति गरेकाे टिप्पणी तथा आराेपकाे बिराेध गरेकाे छ । महासंघले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै सभामुखले आराेप पुष्टी वा फिर्ता गर्नुपर्ने जनाएकाे छ ।  

संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् रहेकाे महासंघकाे ठहर छ ।  “आफ्ना आरोपहरू पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्धता जनाउन सभामुख समक्ष महासंघ आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएकाे छ। 

‘पत्रकारहरू बिक्रीमा छन्’ भन्ने सभामुखकाे धारणाप्रति सामाजिक सञ्जालमा बिराेध भइरहेकेा छ । सभामुखबाट आएको आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभएमा महासंघ कानूनीलगायतका अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुने चेतावनी महासंघले दिएकाे छ।

संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न र नव निर्वाचित सभामुखलाई बधाई ज्ञापन गर्ने कार्यक्रमसहित हिजो सभामुख देवराज घिमिरे र नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डलबीच भएको भेटघाटका क्रममा सभामुखबाट नेपाली सञ्चार क्षेत्रका बारेमा व्यक्त भएको अभिव्यक्तिबाट समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको ठहर नेपाल पत्रकार महासंघले गरेको हाे ।

महासंघ जन निर्वाचित संसद् र त्यसको नेतृत्व नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पूर्ण प्रतिवद्ध भएको व्यवहारमा देख्न चाहेकाे विज्ञप्तिमा उल्लेख छ । “नेपालको राजनीतिक स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा अनवरत संघर्ष गर्दै आएको नेपाली सञ्चार क्षेत्र क्रमश: व्यावसायिकतातर्फ उन्मुख भइरहेको बेला समग्र प्रेस जगतलाई लान्छित गर्ने अभिव्यक्ति आउनुले यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्नेतर्फ महासंघ गम्भीर चासो र चिन्ता प्रकट गर्दछ,” विज्ञप्तिमा भनिएकाे छ । 

सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको महासंघले जनाएकाे छ । सचिवालयवाट सामान्य प्रष्टीकरणबाहेक सभामुखकाे धारणा बाहिर आउन नसकेपछि शनिवार महासंघले विज्ञप्तिमार्फत् बिराेध जनाएकाे हाे । 



प्रतिक्रिया दिनुहोस !