१५ चैत्र २०८०, बिहिबार

रासायनिक मलको अनुदान कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग एमालेको माग

प्रकाशित मिति :  19 March, 2023 4:27 pm


काठमाडौँ । नेकपा (एमाले) ले रासायनिक मलको अनुदान कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रासायनिक मलको अनुदान कटौति गर्ने सरकारको निर्णय किसान मार्नेगरी आएको उल्लेख गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो ।

पार्टीको कृषि तथा पशुपंक्षी विकास विभागद्वारा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै महासचिव पोखरेलले नेपाली किसानहरूको संरक्षण र प्रोत्साहनका लागि रासायनिक मलको मूल्य घटाउन र अनुदान वृद्धि गर्न पनि सरकारलाई सचेत गराए।

महासचिव पोखरेलले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घटीरहेका बेला नेपालमा किन वृद्धि गर्ने भन्दै सरकारलाई प्रश्न समेत गरे ।

उनले आफ्नो पार्टी नेतृत्वको सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने कामलाई अघि बढाएको उल्लेख गर्दै त्यसलाई गति दिन पनि सरकारलाई दबाब दिए ।

महासचिव पोखरेलले भने,“अन्तराष्ट्रिय बजारमा रासायनिक मलको भाउ घटिरहेको बेलामा अहिलेको सरकारले जसरी मूल्य वृद्धि गर्ने काम गरेको छ । यो अत्यन्तै अनुचित छ । जबकी हाम्रो पार्टी सरकारमा रहेका बेला अर्थ मन्त्रालयको तर्फबाट रासायनिक मल आयातका लागि राज्यका तर्फबाट अनुदान वृद्धि गर्नेकुरा पनि भएको थियो । आर्थिक संकटका बेला पनि अर्थ मन्त्रालयले रासायनिक मल आयात गर्नका लागि पर्याप्त मात्रामा उपलब्ध गराउने निर्णय गरेको थियो । यस्तो अवस्थामा यो सरकारलाई के बाध्यता आईलाग्यो ?”

महासचिव पोखरेलले नेपालमा वन क्षेत्र प्रशस्त भएकाले प्राङगारिक मलको उत्पादनका लागि किसानलाई प्रोत्साहन गर्न र त्यसका लागि आवश्यक बजारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए । कृषि क्षेत्रको विकासका लागि लागि पुँजी र प्रविधिको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !