प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।
सरकारलाई समर्थन गरेका नेकपा एमाले र राप्रपाले समर्थन फिर्ता लिई सरकारबाट पनि बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलगायत दलहरूले विश्वासको मत दिने तयारी गरेका छन्।नेकपा एमाले, राप्रपा र नेमकिपाले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारेमा कुनै निर्णय गरेको छैन ।
प्रधानमन्त्रीले बहुमतका लागि १३८ जना सांसदको समर्थन पाउनुपर्ने हुन्छ। ११ दलले समर्थन दिएमा प्रधानमन्त्रीले सजिलै विश्वासको मत पाउने देखिन्छ।
प्रतिनिधि सभामा कांग्रेसका ८८, माओवादीका ३२, रास्वपाका १९, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, नागरिक उन्मुक्तिका ४, लोसपाका ४, राष्ट्रिय जनमोर्चाको १, नेपाल समाजवादी पार्टीको १, आम जनता पार्टीको १ सांसद छन्।








