१० पुस २०८२, बिहिबार

रोल्पाको जलजला बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको संयुक्त प्यानल बिजयी

प्रकाशित मिति :  20 March, 2023 7:56 am


उमा केसी

रोल्पा । चैत्र ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा रोल्पाका दुई क्याम्पसमा अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

रोल्पाको लिवाङमा रहेको जलजला वहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको संयुक्त प्यानल र नवनेपाल क्याम्पस जुँगारमा नेपाल विद्यार्थी संघको संयुक्त प्यानल विजयी भएका छन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जलजला वहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका उमेश पुन सभापतिमा निर्वाचित भएका छन् ।

पुनले नेविसंघका दीपक विष्टलाई १५ मतान्तरले हराउँदै विजयी भएका हुन् । क्रान्तिकारीका पुनले १९३ मत प्राप्त गर्दा नेविसंघका विष्टले १७८ मत प्राप्त गरेका थिए ।

४७३ मतदाता रहेको सो क्याम्पसमा ३९४ मत खसेको थियो । सो क्याम्पसमा अखिल क्रान्तिकारी र अखिल क्रान्तिकारी विप्लवले संयुक्त उम्मेदवारी दिएका थिए भने नेविसंघ नेतृत्वको गठवन्धनलाई अनेरास्ववियू र अखिल छैठौंले साथ दिएका थिए । क्याम्पसको स्ववियू सचिवमा अखिल क्रान्तिकारी विप्लवका हरिमाया महरा विजयी भएकी छिन् ।

त्रिभुवन विश्वविद्यालयको संवन्धन प्राप्त नव नेपाल क्याम्पसमा भने अनेरास्ववियू नेविसंघको संयुक्त प्यानल विजयी भएको छ । सभापतिमा अनेरास्ववियूका एकराज डाँगी विजयी भएका छन् । डाँगीले अखिल क्रान्तिकारीका खिमराज थापालाई २० मतान्तरले हराउँदै सभापतिमा विजयी भएका हुन् ।

अनेरास्ववियूका डाँगीले ११९ मत प्राप्त गर्दा अखिल क्रान्तिकारीका ९९ थापाले मत प्राप्त गरेका थिए । अनेरास्ववियूका डाँगीलाई नेविसंघले र अखिल क्रान्तिकारी विप्लवका थापालाई अखिल क्रान्तिकारीले सहयोग गरेको थियो । सो क्याम्पसको सचिवमा नेविसंघका तीलसरी डाँगी विजयी भएकी छिन् । सो क्याम्पसमा २२२ मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस !