उपराष्ट्रपति रामसहायप्रसाद यादवले लिए पद तथा गोपनीयताको शपथ
प्रकाशित मिति : 20 March, 2023 11:04 am
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिएको विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।
समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्वराष्ट्रपति डा रामवरण यादव, निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधव नेपाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी थिए ।
जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यहि चैत ४ गते भएको निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपतिमा विजयी भएका हुन् ।








