८ बैशाख २०८१, शनिबार

चैत ११ देखि ‘महिला नेतृत्व शिखर’ सम्मेलन हुँदै

प्रकाशित मिति :  20 March, 2023 5:30 pm


काठमाडौँ । नेपाल उद्योग परिसंघले आगामी चैत्र ११ र १२ गते ‘महिला नेतृत्व शिखर सम्मेलन’ आयोजना गर्ने भएको छ।

परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौँमा हुन लागेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको तयारी बारे सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्य सम्मेलनको रहेको परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले बताए ।

सम्मेलनमा लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वहरूबिच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरूका सफलता सुनाउने, महिलाहरूलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्राप्त हुने उनले बताए ।

नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान र परिवर्तनका संवाहक महिला विषयमा छुट्टा छुट्टै सत्रमा छलफल हुने परिसंघ महिला उद्यमी मञ्च सभापति छायाँ शर्माले जानकारी दिइन् ।

उनले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिस, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरण लगायतका क्षेत्रमा स्थापित, रूपान्तरणकारी एवं प्रभावशाली व्यक्तित्वहरूको सहभागिता रहने बताइन् ।

सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पुर्याएका दुई जना महिलालाई सम्मान गर्नुका साथै उद्यमशीलता प्रबर्द्धनका लागि महिला उद्यमीहरूबाट उत्पादित स्वदेशी वस्तुहरूको प्रदर्शनी समेत गरिने आयोजकले जनाएको छ ।

दुई दिने महिला नेतृत्व शिखर सम्मेलनको निष्कर्ष एवं सुझाव नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !