११ बैशाख २०८१, मंगलबार

लेखक समीरको ‘कोरोनातन्त्र’ पुस्तक बजारमा

प्रकाशित मिति :  21 March, 2023 1:42 pm


काठमाडौँ । बिगत ३ दशकदेखि नेपाली साहित्यमा पृथक पहिचान बनाएका लेखक रवीन्द्र समीरको १३ औं पुस्तक ‘कोरोनातन्त्र ‘बजारमा आएको छ ।

लघुकथा विधाका अब्बल सर्जक समीरको यो दशौँ लघुकथा संग्रह हो । कोरोनातन्त्रभित्र एकसय एकवटा पृथक अस्तित्व बोकेका स्वतन्त्र लघुकथा छन् ।

कोरोनाको वैश्विक महामारीको सुरुदेखि समाजमा देखिएका डर, हल्ला, उपचारको अनिश्चितता, बेडको अभाव, अक्सिजनको अभाव, सरकारी अकर्मन्यता, खोपबारे उत्पन्न भ्रम तथा महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई समीरले सूत्रात्मक रूपमा बुनेका छन् ।

कोरोनातन्त्रका हरेक लघुकथामा कोरोनाकालका उखान तथा शास्त्रीय भनाइले पुस्तकलाई थप ओजिलो बनाएका छन् । पुस्तकको केन्द्रीय पात्र डा शर्माको भोगाई तथा अनुभवले उपन्यास निकै बाँधिएको छ ।

हामीले भोगेका निरङ्कुश तन्त्र, प्रजातन्त्र, लोकतन्त्र आदिले जसरी हामीमाथि निर्मम शासन गरे, त्यसैगरी आँखाले देख्न नसकिने कोरोना भाइरसले कोरोनातन्त्रको नाममा कसरी शासन गर्यो भन्ने बिम्बलाई पुस्तकमा सुललित रूपमा लेखिएको लेखकले जनाएका छन् । इन्डिगो इन्कले बजारमा ल्याएको यो पुस्तक महामारीको जीवन्त दस्ताबेजको रूपमा रहने विश्वास गरिएको छ ।

महामारीको यो अत्यासलाग्दो विभिषिकालाई शब्दमा संगठित गर्दै कल्पना मिसेर व्यङ्ग्यात्मक शैलीमा लेखिएको सूत्रउपन्यास हो– कोरोनातन्त्र । लघुकथाका थुँगाहरूलाई पृथक आयामबाट एउटै सूत्रमा उनेर बनाइएको माला जस्तो भएकाले यसलाई सूत्रउपन्यास भन्नु वाञ्छनीय हुन्छ । यो उपन्यास वर्तमान पुस्ताका लागि आफूले भोगेको विगत तथा भावी पुस्ताको लागि महामारीको गतिलो इतिहास हुने लेखकले बताए ।



प्रतिक्रिया दिनुहोस !