११ बैशाख २०८१, मंगलबार

सरकार विरुद्ध माओवादी केन्द्रसहित ६ पार्टी निकट किसानको माइतीघरमा प्रदर्शन

प्रकाशित मिति :  22 March, 2023 2:28 pm


काठमाडौँ । घडीमा १२ बजेको थियो । माइतीघरमा रहेको दुईतर्फी सडकमध्ये एकतर्फी सडक चर्को घामको राफले तातेको थियो भने आर्कोतर्फी सडकमा किसान संगठनको विरोध प्रदर्शनले उग्र रूपमा तातेको थियो । उक्त प्रदर्शन वर्तमान सरकार विरुद्ध सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका ६ वटा कम्युनिष्ट पार्टीहरू निकट किसान संगठनले किसानको हकहितको लागि गरिएको प्रदर्शन थियाे ।

विरोध प्रदर्शनमा बोल्दै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का चित्रबहादुर श्रेष्ठले रासायनिक मलको मूल्यवृद्धि अविलम्ब रोक्नको लागि सरकारसँग माग गरेका छन् । उनले भने, “जब जब किसानको उत्पादन वृद्धि हुने संकेत हुन्छ तब तब सरकारले किसानलाई मल पुर्याउनको लागि कन्जुसाईँ गर्छ । त्यसकारण सरकारले दीर्घकालीन योजना बनाई खेतीको समयमा रासायनिक मलको अभाव हुने अवस्थाको सधैँको लागि अन्य गर्नुपर्छ ।’’

त्यसैगरी अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले विदेशबाट तरकारी, कुखुरा, अण्डा, खसीबोका र पशुपन्छी लगायतको आयात रोक्नको लागि सरकारलाई अनुरोध गरेका छन् । उनले खाद्यान्न, तरकारी तथा फलफूलमा विषादिको अवशेष परीक्षणलाई कडाइ साथ लागू गर्न र कृषि उपजको आयातलाई निरुत्साहित गरी स्वदेशी किसानको उत्पादनलाई संरक्षण गर्न जरुरी रहेको बताएका हुन् ।

प्रदर्शनमा नेपाल राष्ट्र बैंकको निति विपरित ऋण प्रवाह र अन्य कार्य गर्ने सहकारी, लघुवित्तका संचालकहरूलाई कालो सूचिमा राखी कडा कारबाही गर्नको लागि चेतावनी दिएका छन् ।

त्यस्तै उनीहरूले किसान परिचयपत्र लागु गर, किसान विरोधी भूमि बैंक खरोज गर, बढ्दो महङ्गो नियन्त्रण गर, किसान एकता जिन्दावाद, किसानलाई समयमा मल बिउ उपलब्ध गराउ, मिटर ब्याजेलाई कारबाही गर, गरिब किसानलाई अनुदानको व्यवस्था गर, किसानमाथिको वित्तीय शोषण अन्त्य गर, लगायतका माग राखेका छन् ।

माओवादी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान यूनियन र नेकपा (एमाले० निकट अखिल नेपाल प्रगतिशील किसान संघसहित ६ वटा कम्युनिस्ट पार्टी निकट किसान संगठनहरुले प्रदर्शन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !