१५ चैत्र २०८०, बिहिबार

नरेन्द्र मोदीलाई मानहानी गरेको अदालतको ठहर, राहुल गान्धीलाई २ वर्षको जेल सजाय

प्रकाशित मिति :  23 March, 2023 1:44 pm


काठमाडौं । भारतमा कांग्रेस आईका नेता राहुल गान्धीलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । सन् २०१९ मा उनले प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध दिएको एक अभिव्यक्तिलाई लिएर उनीमाथि मानहानीको मुद्दा दायर भएको थियो ।

गुजरातको सुरतस्थित अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको छ ।

चार वर्षअघि दायर मुद्दामा बिहीबार अदालतले राहुललाई दोषी ठहर गरेको हो । सो फैसला आउँदा राहुल अदालतमा उपस्थित थिए । गुजरात कांग्रेसका थुप्रै नेताहरू उनीसँग थिए ।

एक भाषणमा गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई लक्षित गर्दै ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है (सबै चोरको थर मोदी किन हुन्छ ) भनी बोलेका थिए ।

राहुलले २०१९ मा कर्नाटकमा आयोजित चुनावी सभामा दिएको उक्त अभिव्यक्तिका विरुद्ध भारतीय जनता पार्टीका विधायक पूर्णेश मोदीले गुजरातको सुरत अदालतमा मुद्दा दायर गरेका थिए ।

यता राहुलले अदालतमा आफ्नो पक्ष प्रस्तुत गरेका थिए । उनका वकिलका अनुसार राहुलले बयान दिने क्रममा आफ्नाे नियत गलत नभएको बताएका थिए।

अदालतले राहुललाई सजाय सुनाएपछि अदालत परिसरमा पूर्णेश मोदी र उनका समर्थकहरूले अदालत बाहिर भारत माताकी जय र जय श्री रामको नारा लगाए।



प्रतिक्रिया दिनुहोस !