‘आर्थिक संकट समाधानका लागि फजुल खर्च कम गराैं’
काठमाडाैँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा उत्पन्न आर्थिक संकट समाधानका लागि फजुल खर्च कम गर्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बाेल्दै उनले मुलुकको अर्थतन्त्रलाई सवल बनाउन र जनताको अपेक्षा अनुसार काम गर्न संसद, सरकार र प्रतिपक्षसहितका सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुको विकल्प नरहेको स्पष्ट पारेका हुन् ।
कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुलुकको अर्थतन्त्रमा देखिएका संकट हटाउनका लागि सबै मन्त्रीहरूलाई नैतिक रूपमा तलमाथि गर्न नदिने प्रण गर्न पनि सुझाव दिएका छन् । नेता कोइरालाले आफूले अर्थविद्, व्यापारी, उद्योगपतिहरूसँग मुलुकको आर्थिक संकटबारे गम्भिर छलफल गरेको उल्लेख गर्दै ती समस्या समाधानका लागि मिलेर अघि बढन राजनीतिक दलहरू प्रतिबद्ध हुनुपर्ने पनि बताएका छन् ।
उनले भने, “अब हामी ढिलो नगरी जनअपेक्षा अनुसार संसद, सरकार, प्रतिपक्ष सबै एकठाउँमा उभिएर नागरिक चिन्तालाई सम्बोधन गर्न अगाडि बढनुको विकल्प छैन । हाम्रा आफ्नै विगतमा कमी कमजोरीले संघीयता र प्रदेश संरचनाप्रतिको वितृष्णा दिनप्रतिदिन चुलिँदो छ । यो हाम्रो राजनीतिक प्रणालीको असफलताको पहिलो खुडकिलो हो भन्ने मलाई लाग्छ । विश्वव्यापी रुपमा बैंकिङ क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठीरहेको छ । हामो देशले पनि युरोप र अमेरिकाजस्ता देशहरूले भोग्नु परेको बैकिङ संकट भोग्न नपरोस भन्नका निम्ति अपनाउनुपर्ने मौद्रिक नीतिलाई बेलैमा विज्ञ, विशेषज्ञको सल्लाहबाट अगाडि बढ्न म अनुरोध गर्दछु ।”
नेता कोइरालाले युरोप र अमेरिकामा देखिएको बैकिङ समस्याबाट पाठ सिकेर नेपाल अघि बढनुपर्ने भएकाले सोही अनुसार विज्ञहरूको परामर्श लिएर अघि बढन पनि सरकारलाई सचेत गराए ।








