८ बैशाख २०८१, शनिबार

सवारी अनुमति पत्र छपाईका लागि नयाँ मेसिन खरिद गरिने

प्रकाशित मिति :  27 March, 2023 5:29 pm


काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सवारी अनुमति पत्र (लाइसेन्स) को पर्खाइमा बसेका सवारी चालकले ३ दिनमा पाउने बताएका छन् ।

सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना तीन दिनका आफूले गरेका काम सार्वजनिक गर्दै अबको ८ महिनापछि सवारी चालकले सहज रुपमा ट्रायल दिएको ३ दिनमा लाइसेन्स पाउने बताए ।

सरकारले नयाँ प्रिन्टिङ मेसिन खरिद गरेर लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन लागेको उनको भनाई थियो । उनले हरेक दिन दैनिक ६ हजारको सङ्ख्यामा लाइसेन्स प्रिन्ट भएर वितरण गरिए पनि पछिल्लो लोडका कारण वितरण प्रभावकारी नभएको बताए ।

मन्त्री श्रेष्ठले मेसिन खरिदका लागि सूचना प्रकाशित भइसकेको र अब टेन्डरमा गएपछि खरिद प्रक्रियालाई अगाडी बढाइने जानकारी दिए । उनले मन्त्रालयले सोझै खरिद गर्न सार्वजनिक खरिद ऐनले रोक्ने भएपछि टेन्डरमा जानुपरेको दाबी गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीसँग पनि सल्लाह गरेरै मेसिन खरिदको प्रक्रिया अगाडी बढाइएको बताए । उनले अर्थले बजेट निकासा गरेपछि थप काम अगाडी बढ्ने बताए ।

उनले भने,“ विगतमै पेन्डिङ रहेका ८ लाख लाइसेन्स प्रिन्ट हुँदै वितरण गरिएको छ । यसरी भएन भनेर अर्को प्रिन्टिङ मेसिन खरिद गर्ने गृहकार्य शुरु भएको छ । ८ महिनापछि तीनदेखि सात दिन भित्र सेवाग्राहीले लाइसेन्स पाउँछन् । मेसिन खरिदका लागि सूचना प्रकाशित भइसकेको र अब टेन्डरमा गएपछि खरिद प्रक्रियालाई अगाडी बढाइन्छ ।”

मन्त्री श्रेष्ठले प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) एक महिनाभित्रै तयार हुने बताए । उनले अध्ययन सकेर एक महिनाभित्रै प्रतिवेदन नेपालले पाउने अपेक्षा गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस !