२५ मंसिर २०८२, बिहिबार

मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रीपरिषद्को बैठकमा निर्णय हुने

प्रकाशित मिति :  28 March, 2023 12:09 pm


काठमाडौं। मिटरब्याज पीडितहरूसँग छलफल गर्न सरकारले वार्ता समिति गठन गरेको छ।

समितिले पीडितहरूसँग वार्ता गरेपछि आवश्यक निर्णयका लागि आज दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुने प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले बताए ।

‘पीडितहरूसँग छलफल गर्न गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ।’ तिमिल्सिनाले भने ‘वार्ता टोलीका अन्य सदस्यमा उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगा बहादुर दंगाल रहेका छन्।’

वार्ता टोलीले मिटरब्याज पीडितहरूसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सोबारेमा प्रधानमन्त्रीलाई जानकारी गराउने कार्यादेश दिइएको छ।

उनका अनुसार सरकारले पीडितहरुका समस्या समाधानका लागि कानुनी जटिलता फुकाउन संसदमा विधेयक दर्ता गर्ने तयारीसमेत गरेको छ । उक्त विधेयकबारे आज बस्ने मन्त्रिपरिषद्को बैठकले सदनमा प्रस्तुत गर्नेबारे निर्णय गर्नेछ।

पीडितहरू काठमाडौं आएलगत्तै प्रधानमन्त्री प्रचण्डले गृहसचिव र सचिवालयका पदाधिकारीलाई पीडितरूसँग छलफल गर्न र समस्या हल गर्ने वातावरण बनाउन निर्देशन दिएका थिए।

पीडितहरूसँग वार्ता टोलीले छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डले आज नै पीडितहरूसँग भेट गर्ने र थप छलफल गर्ने कार्यक्रमसमेत रहेको तिमिल्सिनाले बताए ।



प्रतिक्रिया दिनुहोस !