बालेनलाई प्रधानमन्त्रीको जवाफ : ढुक्क हुनुहोस् ५ वर्षसम्म सरकार परिर्वतन हुँदैन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार ५ वर्ष टिक्ने दाबी गरेका छन् ।
बुधबार काठमाडौँ महानगरपालिकाले प्रज्ञा प्रतिष्ठानको हलमा गरेको न्यायिक समिति पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै प्रचण्डले यो सरकार भत्किन्छ कि भनेर चिन्ता नलिन आग्रह गर्दै ५ वर्ष सम्म परिर्वतन नहुने बताएका हुन् ।
काठमाडौं महानगरको आयोजनामा बुधबारदेखि सुरु भएकको न्यायिक सम्मेलनमा मेयर बालेन शाहले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताएका थिए । शाहले केन्द्रीय सरकार अब ५ वर्षको लागि स्थायी बनोस् र सहकार्य गर्न पाईयोस् भनेका थिए ।
बालेनलाई जवाफ दिँदै प्रचण्डले निर्वाचनपछि लगातार एउटै सरकार भएको भन्दै आगामी ५ वर्षको लागि ढुक्क हुन आग्रह गरेका हुन् ।
‘नागरिकको मन मस्तिष्कमा सरकार भन्नेवित्तिकै स्थानीय जनप्रतिनिधि र कर्मचारीहरू नै अग्रपंक्तिमा आउँछ।’ प्रधानमन्त्री प्रचण्डले भने ‘स्थानीय जनप्रतिनिधि, कर्मचारी र सुरक्षा अंगको सोच्ने तरिका कस्तो छ, सेवाप्रवाह कति चुस्त र जनउत्तरदायी छ भन्ने कुराले सरकारको छवि आम नागरिकमा स्थापित हुन्छ । यसर्थ, राज्यप्रति नागरिकको आत्मीयता र अपनत्वबोधका निम्तिसमेत स्थानीय तह र जनप्रतिनिधिहरूले गम्भीर भूमिका खेल्नुपर्दछ ।’
प्रधानमन्त्रीले संविधानको मर्म र भावनाअनुरूप समाजवादको आधार तयार पार्नसमेत न्यायिक समितिको महत्वपूर्ण भूमिका रहेको तथ्य स्मरण गराए ।








