बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले आफ्नो नेतृत्वको सरकारले तीन महिनाको अवधिमा महत्त्वपूर्ण कामहरू गरेको बताएका छन् ।
शुक्रबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले थिति बसाल्न तीन महिनामा महत्त्वपूर्ण काम भएको बताएका छन् ।
प्रधानमन्त्रीले भने, ‘बेथितिहरू अन्त्य गर्न र थिति बसाल्न यस अवधिमा महत्त्वपूर्ण काम भएका छन्। मन्त्रिपरिषदको बैठकले निजी क्षेत्रको समस्या समाधानका लागि मौद्रिक नीतिमा सहजीकरण गरिएको छ। राजश्व संकलनमा सुधार आएको छ, विदेशी मुद्रा सञ्चिति बढेको छ, रेमिट्यान्समा पनि सुधार आएको छ, सेवा प्रवाह गर्ने कार्यालयका लामा लामा लाइन हटेका छन्।’
त्यस्तै राहदानी, लाइसेन्स लगायतका काममा विगतको झन्झट हटेकाे हुनाले यसलाई ठीक ढंगले बुझेर जनता माझ लैजान प्रधानमन्त्रीले अनुराेध गरे ।
प्रधानमन्त्री प्रचण्डकाअनुसार सुशासन र समृद्धिका लागि महत्त्वपूर्ण काम भएका छन्। कानुन निर्माणका कामले गति लिएका छन्, एउटा समीकरणबाट सरकार गठन भयो, तर राष्ट्रिय सहमति खोज्दै जाँदा सहमति भएन, त्यसपछि अर्को गठबन्धनमा जानुपर्ने परिस्थिति आयो। त्यसले गर्दा कतिपय भएका काम पनि ओझेल परेकोजस्तो छ। आज सरकार बिस्तार भएपछि सरकारले गति लिन्छ ।
विश्व राजनीति नै नयाँ ध्रुवीकरणमा रहेको हुनाले त्यसको विश्वव्यापी प्रभाव परेको प्रधानमन्त्री प्रचण्डले बताए ।
रूस(युक्रेन युद्धपछि विश्व परिस्थितिमा आएको फेरबदललाई ठीक ढंगले बुझ्न र सोहीअनुरूपको राष्ट्रिय नीति आवश्यक रहेको उनको भनाई छ ।








