उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
काठमाडौँ । आगामी वैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
निर्वाचन आयोगका अनुसार तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि सार्वजनिक गरेको तालिका अनुसार आज चैत २० गते उम्मेदवारी दर्ता गर्न लागिएको हो ।
आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।
चैत २१ गते उम्मेदवारी विरुद्ध उजुरी दर्ता, चैत २२ गते उजुरीमाथि छानबिन र सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ-१ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा-२ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन-२ उपनिर्वाचन हुन लागेको हो ।








