४ कार्तिक २०८३, मंगलबार

काठमाण्डौं उपत्यकाबाट हिड्न थाले रोल्पाका श्रमिकहरु, २७ जना यसरी पुगे होलेरी

प्रकाशित मिति :  14 April, 2020 10:44 am


काठमाण्डौंबाट होलेरी पुगेका श्रमिकको होलेरीमा स्वास्थ्य जाँच गर्न लाईन लगाईदै । फोटोः दीपक डाँगीको फेसबुकबाट

रोल्पा, २ वैशाख ।

काठमाण्डौं उपत्यकाका विभिन्न इट्टा भट्टामा रहेका रोल्पाका श्रमिकहरु हिड्न थालेका छन् ।

खाने बस्ने समस्या हुन थालेपछि रोल्पाका श्रमिकहरुले पनि काठमाण्डौं उपत्यका छोड्न थालेका हुन् ।

रोल्पा रुन्टीगढी गाँउपालिका वडा नम्बर-७ का २७ जना आज होलेरी आईपुगेका छन् । भक्तपुरको सुँडालमा रहेको चारपाटे इट्टा उद्योगबाट ३१ जनको समूह हिडेकोमा ४ जना भने दाङ झरेका छन् ।

भक्तपुरबाट कलंकीसम्म पैदल हिँडेका उनीहरु त्यसपछि चितवनको रामनगरसम्म ट्रकमा गएका थिए । रामनगरदेखि नवलपुरको गैंडाकोटसम्म हिडेर पुगेको रोल्पा पुगेका रमेश बुढाथोकीले जानकारी दिए ।

गैंडाकोटमा हरियाली समूहले खाना खुवाएर रुपन्देहीको देवदह नगरपालिकासम्म पुराएको थियो ।

देवदह नगरपालिकाका प्रमुख हिरा के.सीले रोल्पाका ३१ जनालाई समन्वय गरेर रोल्पा पठाएको लुम्बिनी सञ्चारलाई जानकारी दिए ।

उनले भने,‘काठमाण्डौंबाट रोल्पाका मान्छे मेरो नगरपालिकाभित्र प्रवेश गरेको थाहा पाएपछि सबै जानकारी लिँए । सबै एउटै गाँउपालिकाको भनेपछि आन्तरिक मामिला मन्त्री ज्यूसँग पासको कुरा गरेर पछि पठायौं ।’

मेयर केसीले जानकारी गराएपछि रोल्पाबाट प्रदेश सांसद् समेत रहेका आन्तरिक मामिला मन्त्री कुलप्रसाद के.सी.ले आवश्यक समन्वय गरेका थिए । उनीहरुलाई गाडीको व्यवस्था गरेर रोल्पा पठाईएको थियो ।

मेयर के.सी.ले भने,‘ मैले गाँउपालिकाका अध्यक्षसँग पनि कुरा गरे, गाडी भाडा गाँउपालिकाले उपलब्ध गराउने सहमति भयो र उहाँहरु सबैलाई बसमा पठायौं ।’

तीन दिनमा रोल्पा पुगेका उनीहरुलाई स्थानीय राजनीतिक दल, सुरक्षाकर्मी,स्वास्थ्यकर्मी र गाँउपालिकाले आवश्यक सुरक्षा र सावधानि सहित राख्ने तयारी गरेका छन् ।

उनीहरुलाई रुन्टीगढी गाँउपालिका वडा नम्बर-७ मा क्वारेन्टाइनमा राखिने रुन्टीगढी गाँउपालिकाका पर्यटन फोकल पर्सन दीपक डाँगीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !