९ पुस २०८२, बुधबार

मुलुककाे प्रमुख शक्ति एमाले नै हाेः केपी ओली

प्रकाशित मिति :  8 April, 2023 7:10 pm


काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी मुलुकको प्रमुख शक्तिको रुपमा रहेको दाबी गरेका छन्। पार्टी निकट अखिल नेपाल महिला संघको शनिबार काठमाडौंमा शुरु भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले  एमाले मुलुकमा अरु पार्टी भन्दा बढि बलियो, व्यापक र अग्लो रहेको बताए।

उनले एमालेलाई समाप्त पार्न दुनियाँका सबै शक्तिहरु लागेपनि त्यसलाई जोगाएर पार्टीलाई सशक्त बनाउन योगदान दिएको भन्दै अखिल नेपाल महिलासँगलाई धन्यवाद पनि दिए । पार्टीमा आवद्ध महिलाहरुको निष्ठाकै कारण एमाले अहिले पनि बलियो शक्तिको रुपमा रहन सकेको ओलीको भनाई थियो ।
“आज पार्टी दुनियाँ लागेर, घेरेर, छेकेर, चक्रव्यूहमा पारेर पार्टीलाई समाप्त पार्न खोज्दा पनि समाप्त हुन नदिएर, कसैले एमाले बिरुद्ध तरबार चलायो भने महिला दिदीबहिनीहरु ढाल बनेर महिलाहरुले छेकेका छन्,” ओलीले भने, “अनमेसंघ र अरु संगठनहरु सक्रिय छन् । त्यसमा पनि अखिल नेपाल महिला संघको र महिला दिदीबहिनीहरुको महिला दिदीबहिनीहरुको योगदान यथार्थमा भन्ने हो भने आजको अवस्थामा पार्टी यसरी सुरक्षित भएर, जोगिएर, फेरी एउटा देशका प्रमुख पार्टीको हैसियतमा तुरुन्त जस्ताको तस्तै उभिन, शरीरभरी घाउ, निलडाम होलान् ।”

नेकपा एमाले फेरि पनि जुरुक्क उठेको उनकाे भनाइ छ । “अरुभन्दा अलि बलियो, अरुभन्दा अघि व्यापक, अरु भन्दा अघि अग्लो त्यस रुपमा एमाले उभिएको छ । यो योगदानका लागि म महिला दिदीबहिनीहरुलाई धन्यवाद दिन चाहन्छु । यसमा महिलाहरुको निष्ठाले काम गरेको छ ।” ओलीले भने।

अध्यक्ष ओलीले अनेमसंघले आफ्नो संगठनकी पूर्वअध्यक्ष विद्यादेवी भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम गरेको पनि दाेहाेर्याए । उनले पार्टी भित्र गुटबन्दी नगर्न पनि निर्देशन दिए । 

“आजको एमाले भित्र कुनै पनि किसिमको गुटबन्दी छैन । त्यहाँ प्रतिपक्ष छैन । सब एकजुट छ । स्वार्थका लागि कसैले यस्तोउस्तो नभन्नुस् । हुन्छ नि स्वार्थका लागि यसो गु्रप बनाएझैं । खेल्न खोजे झैं त्यस्तो खालको नगर्नुहोला । एक छिन स्वार्थ पूरा भएन भने पनि केही फरक पर्दैन । संगठन एकजुट हुनुपर्दछ । योग्यता, क्षमता, कामलाई हेरेर जिम्मेवारी दिन्छौं । यसमा तलमाथि हुँदैन ।” ओलीले भने।

अखिल नेपाल महिला संघले पनि ‘समृद्ध नेपालः सुखी नेपाली’ बनाउने पार्टीको उद्देश्य प्राप्त हुने गरी आफ्नो संगठनलाई चलायमान बनाउनुपर्ने उनले बताए । 



प्रतिक्रिया दिनुहोस !