‘आगामी आर्थिक वर्षको बजेटमा नयाँ र गुणात्मक परियोजना ल्याइनेछ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आगामी आर्थिक वर्ष २०८०|०८१ को नीति, कार्यक्रम र बजेट विगतभन्दा नयाँ र गुणात्मक रुपमा ल्याउन लागिएको बताएका छन् ।
सोमबार बिहान नेपाल चेम्बर अफ कमर्शको ७२ औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले परम्परागत सोंचबाट माथि उठेर विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य भइरहेको बताएका हुन् ।
उनले भने, “नेपाल सरकार आर्थिक वर्ष २०८०| ०८१ को नीति, कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा छ । परम्परागत सोच नीति, कार्यक्रम र बजेटबाट देशको समृद्धि सम्भव छैन भन्ने कुरामा सरकार स्पष्ट भएको छ । सरकारले यसपटक विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य गरिरहेको छ । ताकी जसबाट देशको विकास र समृद्धिमा गुणात्मक योगदान दिन सकियोस् ।”
उनले नेपाल सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने, सन् २०२६ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र द्रूत साथै सन्तुलित विकास र समृद्धि हासिल गर्ने दिशातर्फ केन्द्रित रहेको बताएका छन् । यसका लागि सरकार र निजी क्षेत्र दुबैबाट हुने लगानीलाई वृद्धि गर्नुपर्ने साथै लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता रहेका बताए ।








