प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बार एशोसिएसनको १० दिने अल्टिमेटम
काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन १० दिने अल्टिमेटम दिएको छ । बारले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दशदिनभित्र नियुक्ति प्रक्रिया अघि नवढे आन्दोलन गर्ने चेतावनी दिएको हो ।
पत्रकार सम्मेलनमा नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिका नेतृत्वबिहीन भएको एक वर्षसम्म पनि प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि नवढेको भन्दै अब बार चुप लागेर नबस्ने बताए ।
उनले भने ‘हामी आजै आन्दोलनका कार्यक्रम घोषणा गर्दैनौं । तर माग पूरा नभए आन्दोलनको घोषणा हुन्छ । ७–१० दिनभित्र निकास माग्छौं । नभए आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्ने हुनसक्छ ।’
उनले व्यवस्थापिका र कार्यपालिकाले सर्वोच्च लगाएतका न्यापालिकालाई हेपेको बारको ठहर रहेको जिकिर गरे । उनले सात देखि १० दिन सम्म प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नवढे आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर अघि बढ्ने स्पष्ट पारे ।
लामो समयदेखि सर्वोच्चमा प्रधानन्यायाधीश र न्यायाधीश रिक्त रहेको, उच्च अदालत र जिल्लामा समेत न्यायाधीश खाली रहेकाले संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन भोलि (बिहीबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटर अल्टिमेटमबारे जानकारी गराउने योजना रहेको घिमिरले बताए ।
महाभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा निलम्बित भएदेखि सर्वोच्च अदालत कायम मुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ ।








