प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न प्रधानमन्त्रीलाई कानुन व्यवसायी दबाब
काठमाडौँ । नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनसहित कानून व्यवसायीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन्।
बिहीवार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न उनीहरुले दबाब दिएका हुन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरू उपस्थित थिए।
बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल बार एशोसिएसनले १० दिनभित्र प्रधानन्यायाधीश नियुक्त नभए आन्दोलनमा उत्रने चेतावनी दिएको थियो।
प्रधानमन्त्रीको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्तिको पहल लिन ध्यानाकर्षण गराएको बताए । प्रधानन्यायाधीश नियुक्ति हुन नसक्दा न्यायपालिकाको साख गिरेको महसुस भएको जानकारि दिए ।








