नागरिकले आफ्नै सपनाको मलामी जानुपर्ने अवस्था आएको छः महामन्त्री थापा
काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरु आफूले देखेको सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना भएको बताएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले नागरिकमा ठूलो छटपटाहट, दिग्दारी र आक्रोश देखिएको बताए ।
मानिसहरुको मनमा सिर्जना भएको चञ्चलताको समाधान बेलैमा हुन नसके देशले झनै समस्या भोग्ने बताउदैँ महामन्त्री थापाले सपना बोकेर हुर्किरहेको कोही पनि नागरिकले आफ्नो सपनालाई मारेर हिँड्नुपर्ने अवस्था आएकोप्रति सरकार, राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने बताए ।
‘नागरिकमा ठूलो छटपटाहट छ । ठूलो एउटा दिग्दारी देखिन्छ । अझ एक खालले भन्ने हो भने एक किसिमको आक्रोश देखिन्छ,’ उनले भने, ‘यो आक्रोश के को आक्रोश हो ? संविधान नभएको बेलामा बरु मान्छेहरुमा एक खालको स्थिर मन थियो । अहिले मन यति चञ्चल छ ।’
महामन्त्री थापाले वैशाख मसान्तसम्म पार्टी भ्रातृ संगठनहरुको विभाग बनाउने र पूर्णता दिने काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएका थिए।








