१३ चैत्र २०८२, शुक्रबार

द्वन्द्व पीडितको धर्ना : न्याय नपाए देशमा जनविद्रोह गर्ने चेतावनी

प्रकाशित मिति :  13 April, 2023 6:17 pm


काठमाडाैँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को बिरोध गर्दै द्वन्द्व पीडितहरूले आफ्नो आन्दोलन जारी राखेका छन् । 

सरकारले पीडकलाई उन्मुक्ति दिनेगरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ संसदमा लगेको भन्दै तत्कालिन माओवादी पीडितहरूले विगत २५ दिनदेखि धर्ना लगायतका विभिन्न आन्दोलनका कार्यक्रम गरिरहेका छन् ।

द्वन्द्वपीडितहरूले बिहीबार नयाँ बानेश्वरमा धर्ना दिएका छन् । उनीहरूले तत्कालिन नेकपा(माओवादी)ले हत्या, हिंसा, अपहरण, कुटपिट, सम्पती लुटपाट र मानिसलाई बिस्थापित गर्ने सम्मको मानव अधिकार उल्लंघनका घटना घटाएका भएपनि विधेयकमार्फत पीडकलाई उन्मुक्ति दिन लागिएकाले आन्दोलन गर्नुपरेको बताएका छन् ।

माओवादीद्वारा पीडित राष्ट्रिय समितिका अध्यक्ष भोजराज तिमल्सिनाले संक्रमणकालिन न्यायको विषयलाई आजसम्म नटुंग्याइएकाले आन्दोलित हुनुपरेको बताए । उनले मानव अधिकार उल्लंघनका घटनामा संलग्न भएकाहरूलाई कानूनी कारबाही गर्नुपर्ने बताए । उनले आफुहरू न्यायको पक्षमा रहेको भन्दै न्याय नपाएमा देशमा जनविद्रोह हुने चेतावनी दिए ।

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघ, बाँकेका अध्यक्ष हरि सुनारले आफूहरू पीडित सुरक्षाकर्मी र सुरक्षाकर्मीका परिवारलाई न्यायको माग गर्दै २०६३ सालदेखि आन्दोलित भइरहेको बताए । तत्कालिन सुरक्षाकर्मीलाई राज्यले नेपाली जनधनको सुरक्षाको लागि परिचालन गरेको उल्लेख गर्दै उनले पीडित परिवारले न्याय पाउनुपर्ने बताएका छन् ।

आन्दोलनकारीले पीडकलाई उन्मुक्ति दिन ल्याइएको विधेयक संशोधन गर, लुटिएको सम्पती फिर्ता गर, बाल सैन्यलाई न्याय दे, पीडितलाई परिपुरणको ग्यारेन्टी गर लगायतका विभिन्न माग राखिएको प्लेकार्डहरूको प्रदर्शन पनि गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !