२० बैशाख २०८१, बिहिबार

रोल्पाको सुनछहरी गाउँपालिकाभित्र पशुचौपायामा लम्पी स्किन रोगसँग मिल्दो लक्षणको रोग देखियो

प्रकाशित मिति :  16 April, 2023 3:29 pm


सांकेतिक तस्बिर

रोल्पा । रोल्पामा लम्पी स्किन रोगसँग मिल्दो जुल्दो लक्षणको रोग देखिएको छ ।

सुनछहरी गाउँपालिकाको वडा नं. ३ बाहिरी गामका दाङजा कोलधारा र लुबाडका बस्तिका गाई,गोरु राँगा, भैँसीमा लम्पी स्किन रोगसँग मिल्दो जुल्दो लक्षण देखिएको हो ।

गाउँपालिकाको कार्यालय ले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“लम्पी स्किन रोगसँग मिल्दो जुल्दो लक्षण घाँटी पुच्छरको वरीपरी भाग पेट थुन लगायत शरीरको विभिन्न भागहरूमा साना ठुला गिर्खाहरू देखिने तथा सुन्निने उच्च ज्वरो आउने कचेरा वा सिंगान बगाउने मुखबाट फिंज निकाल्ने दुध उत्पादन घट्ने जस्ता लक्षणहरू देखा परिरहेको छ ।”

गाउँपालिकाले लम्पी स्किन रोग भाइरसबाट लाग्ने संक्रामक सरुवा रोग भएकाले कुनै खास उपचार नभएको र टोलबस्ती हुँदै गाउपालिका तथा जिल्ला भरि पनि फैलिन सक्ने भन्दै सचेत गराएको छ ।

गाउँपालिकाले ‘यस रोगको विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको च नं १६ मिति २०७७।४।२६ को परिपत्रबाट सावधानी अपनाउन समेत पत्राचार भएको सन्दर्भमा यो रोगको रोकथामको लागि नजिकैको पशु प्राविधिकसँग प्राविधिक सल्लाह लिन’ भनेको छ ।

रोगको लक्षण देखा परिसकेको पशुलाइ अन्य विरामी नभएका पशुहरूसँग लसपस नगराई अलग्गै राख्न, किनबेच तथा ओसारपसार नगर्ने नगराउन, गोठ वरीपरीको वातावरण स्वच्छ राख्न सरसफाइमा विशेष ध्यान दिन समेत गाउँपालिकाले किसानहरूलाई सचेत गराएको छ ।

गाउँपालिकाले असल पशुपालन अभ्यास र असल भेटेरिनरी अभ्यासको नियम पालन गरी समय मै आ–आफ्ना पशुवस्तुलाइ रोग लाग्नबाट सावधानी अपनाउन भनेको छ ।



प्रतिक्रिया दिनुहोस !