बिहान ९ बजे बालकोटमा प्रचण्ड, देउवा र ओलीबिच भेटवार्ता हुँदै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता हुँदैछ।
आज बिहान ९ बजे भक्तपुरको बालकोटस्थित ओली निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता हुन लागेको हो ।
पछिल्लो केही दिनदेखि अस्वस्थ रहेका एमाले अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन विषयमा छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
‘विगत केही दिनदेखि संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरू बीच छलफल भइरहेको छ’, उनले भने, ‘यो बिचमा तीन दिनयता पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या भई छलफल अवरुद्ध हुन पुगेकोले आज बिहान ९ बजे सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेत ओली निवास बालकोट पुगी स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने कार्यसूची रहेको छ।’








